धनगढी । कञ्चनपुरको पुनर्वासमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
पुनर्वास नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ २५ गतेदेखि हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिए ।
प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का स्थानीय तहहरूले टिम दर्ता गराउन सक्ने छन् ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा हुने मेयर कप फुटबलका लागि माघ २३ गतेसम्म टिम दर्ता गराउन सकिने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने बताइएको छ । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद प्रदान गरिने नगर उपप्रमुख शारदा शर्मा बिष्टले जानकारी दिए ।
त्यसैगरी बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।