काठमाडौं । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने भएका छन् ।
हाल अष्ट्रेलियामा रहदै आएका मिडफिल्डर सुलभले ब्रिगेड ब्वाइज क्लबबाट लिग खेल्ने भएका हुन् । लिगका लागि सुलभ नेपाल आईसकेका छन् ।
ब्रिगेडका व्यवस्थापक अर्बिन गुरुङले लिगका बाँकी खेलका लागि सुलभलाई अनुबन्ध गरेको खेलपाटीलाई जानकारी गराए ।
'यस सिजनको लिग खेल्ने गरि सुलभलाई ल्याएका छौँ । अष्ट्रेलियामा खेल्दै आएका उनी यो लिगमा हामीसँग रहने छन्,' गुरुङले भने ।
गत वर्ष सुलभको गोल अष्ट्रेलियामा वर्षको उत्कृष्ट गोल घोषित भएको थियो ।
लिगमा अब ब्रिगेडले ५ खेल खेल्न बाँकी रहेको छ । ब्रिगेडले बिहिबार न्युरोड टिम एनआरटीसँग खेल्दैछ ।
एनआरटीसँगको खेलमा सुलभ ब्रिगेडको जर्सीमा मैदान उत्रने छन् ।
यस सिजन ब्रिगेड ८ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।