काठमाडौं । विश्वकप फुटबलको आउँदो संस्करण सन् २०२२ मा कतारमा हुदैछ । सोही अन्तर्गत दोस्रो चरणको एसिया छनोटका खेल धमाधम भईरहेका छन् । जसमा नेपाल समेत सहभागी छ ।
नेपाल कहिले विश्वकपमा पुग्ला ? यो अहिलेलाई काल्पनिक प्रश्नमात्र हुन सक्छ ।
तर, विश्वकप पुग्ने दोस्रो चरणको बाटोमा नेपाल हिडिरहेको छ ।
दोस्रो चरणमा नेपालले अवे खेलहरु खेलिसक्यो ।
एसियाली पावर हाउस अष्ट्रेलिया लगायत जोर्डन, कुवेत र चाईनिज ताईपेको मैदानमा गएर नेपालले खेलिसकेको छ ।
अब दोस्रो चरणको खेल बाँकी छ । अर्थात नेपालले धमाधम सबै टिमलाई घरेलु मैदानमा बोलाउनेछ । नेपाली दर्शकलाई साक्षी राखेर आफ्नो वास्ताविक परिक्षा दिनुपर्नेछ ।
तर, पहिलो गाँसमै नेपाललाई ढुङ्गा लागेको छ ।
नेपालले मंसिर ३ गते घरेलु मैदानमा कुवेतलाई आतिथ्यता प्रदान गर्ने तालिका थियो । तर, दशरथ रंगशालाको पुनर्निमाणको काम समयमै नसकिएपछि एएफसीले काठमाडौंमा हुने खेलमा रोक लगाएको छ ।
विकल्पको रुपमा नेपालले कुवेतलाई भुटानमा आतिथ्यता प्रदान गर्ने तय भएको छ ।
काठमाडौंमा खेल नहुने भएपछि नेपालले आफ्नै मौसम अनुकुल भुटानलाई विकल्पको रुपमा रोजेको हो ।
तर प्रतिद्वन्दी कुवेत भने नेपाल र भुटान बाहेक खाडी राष्ट्रमा नेपालसंग दोस्रो लेगको खेल खेल्न चाहन्थ्यो । यसका लागि उसले एएफसीमार्फत लबिङ समेत गरेको थियो । तर एन्फाले कुवेतको रणनीतिलाई असफल बनाउँदै भुटानमै खेल गराउन सफल भयो । एक हिसावले भुटानमा खेल आयोजना गर्नु नेपालका लागि महाभारतको लडाँई जिते बराबर भयो ।
पछिल्लो समय नेपाली फुटबल एक हिसावले उत्साहित थियो । करिब ५ बर्षपछि नेपाली फुटबल दशरथ रंगशालमा फर्कदै थियो ।
कुवेतसंगै मंसिरको पहिलो साता खेल्दै एन्फासमेत फुटबलको पुर्नजागरणको उद्घोष गर्न चाहन्थ्यो । कुवेतको गर्मीमा खाएको ७ गोल घरेलु मैदानमा फर्काउन चाहन्थ्यो ।
तर आफ्नो मैदान तयार नहुँदा नेपालले एक मौका गुमाएको छ ।
घरेलु दर्शकलाई साक्षी राखेर कुवेतलाई नेपाली भूमीमा आच्छु आच्छु पार्ने खेलाडीको सपनामा तुषारापत भएको छ ।
‘कुवेतसंग घरेलु मैदानमा बदला लिने नेपाली फुटबलले राम्रो अवसर पाएको थियो । घरेलु मैदानमा हजारौ दर्शकका अगाडी एक अवसर नेपाललाई थियो । तर निर्धारित समयमा पुर्वाधार निर्माणको काम सकिएन,’ फुटबल जानकार कुमार गुरुङ भन्छन्, ‘हामीलाई होम र अवे खेल्न पर्छ भनेर पहिल्यै थाहा थियो । तर सुरुमै विचार पुर्याउन नसक्दा घरेलु मैदानको फाईदा उठाउनबाट बञ्चित भयौ ।’
छनोटको पहिलो खेलमा नेपाल कुवेतको मैदानमा ७–० को फराकिलो अन्तरले पराजित बन्यो । नतिजालाई धेरैले शंकाको दृष्टिले हेरेका छन् । चर्चा यहाँसम्म छ, यसलाई एएफसीले गोप्य रुपमा अनुसन्धान गरिरहेको छ ।
खैर, कुवेतको मैदानमा ब्यहोरेको फराकिलो हारको बदला घरेलु मैदानमा लिने नेपाललाई अवसर थियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भिआईपी प्यारापिट, घाँसे मैदान, प्लेयर ड्रेसिङ रुम लगायतका निर्माण समयमै नसक्दा नेपालले होम गेमको मौका गुमाएको छ ।
नेपाली दर्शक घरेलु मैदानमा कुवेतविरुद्वको खेल हेर्नबाट बञ्चित भएका छन् ।
सन् २०११ जुलाईमा भएको विश्वकप छनोटको अवे खेलमा नेपाल जोर्डनसँग ९–० ले पराजित भएको थियो । तर त्यसको ५ दिनपछि दशरथ रंगशालामा भएको खेलमा नेपालले जोर्डनलाई १–१ बराबरीमा रोक्न सफल भएको थियो । जुन खेलमा भरत खवासले बराबरी गोल फर्काएका थिए ।
हाम्रै विगत बोल्छ, घरेलु मैदानमा प्रभावनै छुट्टै हुन्छ । कुवेतविरुद्ध समेत सोही प्रर्दशन दोहरिने धेरैको अपेक्षा थियो । रंगशालामा फर्कदै गरेको फुटबललाई लिएर खेलाडी समेत निकै उत्साहित थिए ।
अष्ट्रेलिया र जोर्डनसँग खेलेर घर फर्किएका कप्तान किरण लिम्बुले भनेका थिए, ‘हामी अब घरेलु मैदानमा खेल्न निकै उत्साहित छौं । घरेलु मैदानमा कुवेतलाई हराउन चाहन्छौं ।’
तर घरेलु मैदानमा कुवतेलाई हराउने किरण लगायत खेलाडीको सपना पुरा नहुने भएको छ ।
राष्ट्रिय टिमका सदस्य बिक्रम लामा घरेलु दर्शकसामु राम्रो नतिजा निकाल्ने सुनौलो अवसर आफुहरुले गुमाएको बताउँछन् ।
‘हामीलाई धेरै पछि घरेलु दर्शकमाझ कुवेतविरुद्ध राम्रो नतिजा दिने अवसर थियो । यो सुनौलो अवसर पनि थियो । पुर्वाधारका कारण गुमाएका छौ ।’ उनी भन्छन् ।
‘घरेलु दर्शकका अगाडी खेल्न निकै जोश आउँछ । तर त्यो अब सम्भब छैन । अब प्रतिकुल मौसममा भुटानको मैदानमा खेल्ने भएका छौ । मैदान नयाँ छ ।’ उनी भन्छन्, ‘भुटानमा पनि दर्शकको साथ रहने विश्वास छ । राम्रो नतिजा दिने कोशिश गर्नेछौ ।’