काठमाडौं । राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विरेन्द्रनगर नगरपालिका र कावासोती नगरपालिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।
हलचोकस्थित एपीएफको मैदानमा बिहिबार विरेन्द्रनगर र कावासोतीले २–२ गोलको बराबरी खेलेका हुन् ।
खेलको २१ औं मिनेटमा विरेन्द्रनगरकी सम्यना शर्माले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाईन् । तर, खेलको ३८ औं मिनेटमा तिली थापाले गोल गर्दै कावासोतीलाई खेलमा फर्काईन् ।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । खेलको ६९ औं मिनेटमा कावासोतीकी सलिना सारुले गोल गरिन् । तर, ७३ औं मिनेटमा कावासोतीकी निरु गुरुङले आत्मघाती गोल गर्दा खेल २–२ गोलको बराबरीमा सकियो ।
यो बराबरीसंगै समूह ‘बी’ बाट विरेन्द्रनगरले २ खेलबाट ४ अंक जोडेको छ । यस समूहमा एक खेलेको चौदण्डी गढीको ३ र कावासोती नगरपालिकाको १ अंक रहेको छ ।
यस्तै पहिलो खेलमा पराजित भएको पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका अंक विहीन रहेका छन् ।