एजेन्सी । कोलम्बियाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।
बिहिबार बिहान भएको खेलमा कतारलाई १-० गोल अन्तरले पराजित गर्दै कोलम्बियाले दोस्रो जित निकालेको हो ।
मोरुम्बी स्टेडियममा भएको खेलमा कोलम्बियाको जितमा डुभान जापाटा नायक बने । जापाटाले खेलको ८६ औं मिनेटमा कोलम्बियाका लागि निर्णायक गोल गरेका थिए ।
आमन्त्रित टिमको रुपमा पहिलो पटक कोपा अमेरिका खेलेको कतारले कोलम्बियालाई पहिलो हाफमा रोक्न सके पनि दोस्रो हाफमा उक्त प्रदर्शन दोहोर्याउन सकेन् ।
जितसंगै समूह 'बी' को कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-० ले हराएको थियो ।
कतारको यो पहिलो हार हो । १ अंक जोडेको कतारले पहिलो खेलमा पाराग्वेसंग २-२ गोलको बराबरी खेलेको थियो ।
प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।