काठमाडौैं । काठमाडौं महानगरपालिकाले अन्तर नगरपालिका उपमेयर कप फुटबल प्रतियोगितामा दोस्रो जित निकालेको छ । शसस्त्र प्रहरी बल एपीएफको हलचोकमा जारी प्रतियोगिताको छैठौ दिनको खेलमा काठमाडौंले गोदावारी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्याे ।
काठमाडौंको जितमा प्रिति राई, सुस्मिता तामाङ, सुभन्द्रा खड्का र मनिषा थापा मगरले एक एक गोल गरे । यस समुहबाट सेमिफाइनल पुग्ने टिमको तय भने अन्तिम खेलबाट मात्रै तय हुने भएको छ ।
जितसंगै समूह ‘सी’ बाट काठमाडौंको तीन खेलबाट ६ अंक भएको छ । चार खेल खेलिसकेको चन्द्रपुर र तीन खेल खेलेको बाह्रविशेको ९ अंक रहेको छ ।
यस्तै गोदावरीको ३ अंक रहेको छ भने भिमेश्वरले कुनै अंक रहेको छैन ।
समूहको अन्तिम खेलमा काठमाडौंले बाह्रविशेको सामना गर्नेछ । जुन खेलले सेमिफाइनल पुग्ने टिमको तय हुनेछ ।
काठमाडौंलाई सेमिफाइनल पुग्न जितले मात्रै पुग्नेछैन । उसले बाह्रविशेलाई १२–० भन्दा ठुलो गोल अन्तरले पराजित गर्नुपर्नेछ ।
बाह्रविशेलाई भने बराबरीले मात्रै पुग्नेछ । बाह्रविशेको हार वा काठमाडौंको १२ गोल नपुगेको अवस्थामा चन्द्रपुर गोल अन्तरका आधारमा सेमिफाइनल पुग्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी प्रतियोगितामा १८ टिम सहभागी रहेका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली सेमिफाइनल पुग्नेछन् ।
वालिङ्ग नगरपालिका भने समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल असार १२ गते रहेको छ ।