एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले वेष्ट इण्डिजलाई जितका लागि १०६ रनको सामान्य लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान २१ ओभर ४ बलमा अलआउट हुँदै १०५ रनमा समेटियो ।
योसंगै पाकिस्तानले विश्वकपमा सन् १९९२ पछि सर्वाधिक कम स्कोर बनाएको हो । सन् १९९२ को विश्वकपमा पाकिस्तानले इंग्ल्याण्डविरुद्ध ७४ रन बनाएको थियो ।
निकै खराब ब्याटिङ प्रदर्शन गरेको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले समान २२/२२ रन जोडे । यस्तै वाहब रियाजले १८ तथा मोहमद हाफिजले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसुमाने थोमसले २७ रन खर्चेर ४ विकेट लिए । यस्तै जासन होल्डरले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।
यसअघि उद्घाटन खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरिसकेको छ । इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको थियो ।