काठमाडौं । भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पटवाललाई १ बर्षको लागि मुख्य प्रशिक्षक जिम्मेवारी दिएको हो । यसअघि नेपाली टिम जगत टमटाले हेर्दै आएका थिए ।
राखेप सदस्यसचिब केशब कुमार बिष्टले नेपालमा आयोजना हुने साग गेम्सलाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन लागेको बताए ।
'आईसीसीले पटवाललाई प्रशिक्षक नियुक्त गरेर पठाएको हो,' सदस्य सचिब बिष्टले खेलपाटीसंग भने, 'सोही अनुसार हामीले सम्झौता गर्न लागेका हौँ । उनले आगामी साग गेम्सलाई केन्द्रित गरेर टिम हेर्नेछन् ।'
सदस्यसचिव बिष्टले पटवाललाई मासिक ७ हजार डलर दिनेगरि अनुबन्ध गर्न लागेको जानकारी गराए । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्ने समेत सदस्यसचिब बिष्टले जानकारी गराए ।
पटवालले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए । यस्तै पटवालले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको प्रतियोगिता निर्देशक भएर काम गरेका थिए ।
यसअघि पटवालले अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए ।