काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालको रुस्लान थ्रीस्टार र भारतको युनाइटेड ब्रदर्शबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । भारतको युनाइटेड ब्रदर्शविरुद्व उत्रदै गर्दा थ्री स्टारको लक्ष्य जित निकाल्दै फाइनल प्रवेश गर्नु हुनेछ ।
स्थलमार्ग हुदै प्रतियोगिता खेल्न पुगेको थ्री स्टारले पहिलो खेलमा अपेक्षित प्रर्दशन गर्न सकेको थिएन । राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीले भरिएको थ्री स्टारले पछिल्लो समय टिमलाई सन्तुलित बनाएको छ ।
डिफेन्समा दिनेश राजवंशी र अनन्त तामाङलाई थप्दै रक्षापङ्तीलाई बलियो बनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको थ्री स्टारले मोफसलका प्रतियोगितामा औसत प्रर्दशन गरेको थियो ।
यसअघि थ्री स्टार क्लबले उग्येन एकेडेमी क्लबलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा खेलमा नेपाल यु–१९ कप्तान सम्मिलित पारो एफसी सँग पराजित हुँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिसकेको छ ।
आजको विजेताले (शुक्रबार) पारो एफसीसँग उपाधिका लागि खेल्नेछ ।