ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

काठमाडौँ । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ बीजीसीएलको मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ ।
लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता हस्ताक्षर समारोहमा बेलायती क्रिकेट जगतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व इसिबी म्यानेजर पल बेडफोर्डले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्याएको योगदानको प्रशंसा गरे ।
त्यसैगरी, केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले पनि लिगको सफलताको कामना गरे ।
समारोहमा बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अगाडि बढाउन यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एउटै व्यावसायिक मञ्चमा ल्याउन पाउनु गौरवको विषय भएको बताए ।
बीजीसीएल बेलायतमा नेपाली खेलाडीहरूलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो र एकमात्र लिग हो। हालसम्म पाँच सफल संस्करण सम्पन्न गरिसकेको यो लिग ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।
कार्यक्रममा राम धमालाले स्वागत मन्तव्य दिएका थिए भने ब्रिज इन्टरनेशनलका सीईओ गिरीले संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए। बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको आवश्यकता र प्राविधिक पक्षबारे प्रस्तुति दिएका थिए ।






-1771833812248.jpeg&w=3840&q=75)




-1771850031377.png&w=3840&q=75)

