क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

काठमाडौं। अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी राष्ट्रिय लिग रोकिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगमा श्रम स्वीकृति र कार्यसहमतिबिनै पर्यटक भिसामा नेपाल ल्याएर विदेशी खेलाडी खेलाडी भन्दै ती क्लब अध्यागमन विभागको छानबिनमा तानिएका हुन् ।
विभागका अनुसार चर्च बोइज र मच्छिन्द्रसहित, संकटा, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, जावलाखेल युथ र श्री भगवती क्लब टोखालाई छानबिनमा तानिएको हो। यी क्लबमा भित्रिएका विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको र कार्यसहमति नगरेको भेटिएपछि छानबिन थालिएको विभागले जनाएको छ।
योसँगै लिगका खेल रोकिएको एन्फाले जनाएको हो। एन्फाले बिहीबार एक सूचना जारी गर्दै म्याच नं ९७ र १००-१३६ का खेलहरु अर्को सूचना नआएसम्म रोकिएको जानकारी दिएको छ।
‘२०८२ पौष ३० गतेबाट संचालन भइरहेको राष्ट्रिय लिग प्रतियोगिता २०८२ अन्तर्गत म्याच नं ९७ र १००-१३६ का खेलहरू प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँछु,’ एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले निकालेको सूचनामा भनिएको छ।
विभागले पत्रमार्फत पर्यटक भिसा लिएर नेपाल आएका व्यक्तिहरूलाई उनीहरूको भिसाको उद्देश्यअनुसार मात्र गतिविधिमा संलग्न हुन पाउने व्यवस्था रहेको सम्झाउँदै खेलकुदमा सहभागी गराउनु नियमविपरीत हुने स्पष्ट पारेको छ।
विभागका अनुसार विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने भएमा आवश्यक कार्य अनुमति तथा स्वीकृति लिनुपर्ने हुन्छ। यसअघि केही क्लबहरूले पर्यटक भिसामा आएका खेलाडीलाई खेलाएको जानकारी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको विभागले जनाएको छ।
अध्यागमन विभागले नियमविपरीत कार्य गरेमा सम्बन्धित क्लब र खेलाडीमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।










-1773889321491.webp&w=3840&q=75)

