नेयमारलाई लिएर नयाँ विवाद

काठमाडौं। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरलाई लिएर फेरि नयाँ विवाद सुरु भएको छ।
सान्तोसको महत्त्वपूर्ण एक खेल गुमाएपछि उनको फिटनेसबारे विभिन्न अड्कलबाजी फैलिएको छ। यस विषयमा आलोचक र हल्ला फैलाउनेहरूलाई सामाजिक सञ्जालमार्फत नेयमारले कडा प्रतिक्रिया दिएका छन्।
३३ वर्षीय फरवार्डको मुख्य लक्ष्य भनेको २०२६ फिफा विश्वकपमा ब्राजिल टोलीमा स्थान बनाउनु हो। पछिल्लो समय क्लब सान्तोस एफसीका लागि उनले सिजनको अन्त्यतिर महत्त्वपूर्ण भूमिका खेलेका थिए।
चोट बोकेरै उनले केही खेल खेले। टोलीको प्रतिस्पर्धा कायम राखे। तर, त्यसपछि उपचारका लागि उनको शल्यक्रिया गर्नुपरेको थियो। त्यसपछि ब्राजिल राष्ट्रिय टोलीमा उनको पुनरागमनबारे प्रश्न उठ्न थालेको थियो।
यसबीच केही आशा पनि देखिएको थियो। किनभने ब्राजिल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एर्न्सलोटीले उनलाई आगामी अन्तर्राष्ट्रिय खेलका लागि प्रारम्भिक टोलीमा राखेका थिए। अन्तिम निर्णय गर्नुअघि मैदानमा नेयमारको प्रदर्शन हेर्ने योजना एर्न्सलोटीको थियो।
तर, त्यो अवसर भने उनले पाउन सकेनन्। मिरासोल एफसीविरुद्ध सान्तोसको खेलमा नेयमार मैदान उत्रिएनन्। क्लबका अनुसार अत्यधिक अभ्यासका कारण मांसपेशीमा असहजता देखिएकाले उनलाई आराम दिइएको हो।
तर, उनको अनुपस्थितिपछि विभिन्न सञ्चारमाध्यममा फेरि चोट लागेको हुन सक्ने चर्चा फैलियो। यसले मार्च अन्तर्राष्ट्रिय विन्डोका लागि ब्राजिल टोलीमा उनको स्थान कठिन हुन सक्ने अनुमान गरिएको छ।
यस विषयमा खेल सुरु हुनुभन्दा केही घण्टा अघि नेयमारले इन्स्टाग्राममार्फत आलोचकहरूलाई जवाफ दिएका छन्। उनले लेखेका छन्,“मलाई लिएर यति धेरै कथाहरू बनाइँदै छन्, तर वास्तवमा केही भएको छैन। म चोट बोकेर खेलें भने पनि गलत, आफ्नो ख्याल राखें भने पनि गलत, आराम गरें भने पनि गलत। सबैलाई खुसी पार्न साँच्चै गाह्रो छ।”
ब्राजिलियन पत्रकार लुकास मुस्सेतीले भने अभ्यासका क्रममा आफू पूर्ण रूपमा आत्मविश्वासी नभएकाले नेयमारले एर्न्सलोटीका अगाडि खेल्न नचाहेको दाबी गरेका थिए।
यस टिप्पणीले नेयमारलाई अझ आक्रोशित बनायो। अर्को पोस्टमा उनले लेखे,“सबैभन्दा अचम्म त त्यही हुन्छ, जो दैनिक रूपमा मेरो साथमा रहेको नाटक गर्छन्, उनीहरू नै कथा बनाउन थाल्छन्। नेयमार हुनु साँच्चै गाह्रो छ, सबै कुरा सहन धैर्य चाहिन्छ।”
मिरासोलविरुद्धको खेल गुमाएपछि ब्राजिल प्रशिक्षकको अगाडि आफूलाई प्रमाणित गर्ने अवसर नेयमारले गुमाएका छन्। तर, कोरिन्थियान्सविरुद्ध हुने आगामी क्याम्पियोनातो ब्राजिलेइरो सिरी एको खेलमा मैदान उत्रिन सके त्यो नै उनको अन्तिम अवसर हुन सक्छ। त्यसपछि नै मार्च अन्तर्राष्ट्रिय विन्डोका लागि ब्राजिल टोलीको अन्तिम स्क्वाड घोषणा गरिनेछ।









-1744388693-1773245134485.avif&w=3840&q=75)
-1773230362276.jpg&w=3840&q=75)

