मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा आफ्नो उत्कृष्ट लय कायम राख्दै जावलाखेल युथ क्लब लाई २–० ले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा मच्छिन्द्र महत्त्वपूर्ण जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भयो। यो जितसँगै मच्छिन्द्रले ८ खेलबाट १९ अंक जोडेको छ।
जावलाखेलको भने यो लिगमा पाँचौं हार हो। ८ खेलबाट जावलाखेलले ९ अंक जोडेको छ। खेलको ३२औं मिनेटमा जोनाथन इडुआर्डो क्यान्टिल्लाले सुन्दर गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। पहिलो हाफमै प्राप्त अग्रता टोलीका लागि निर्णायक बन्यो।
४०औं मिनेटमा जावलाखेलले बराबरी गर्ने उत्कृष्ट अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। युवराज ढकालले गरेको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।
दोस्रो हाफमा जावलाखेलले आक्रमणलाई तीव्र बनाए पनि गोल गर्न सकेन। खेलको अन्तिम मिनेटमा जावलाखेलका खेलाडीले पेनाल्टी क्षेत्रभित्र मच्छिन्द्रका खेलाडीलाई लडाए। त्योसँगै मच्छिन्द्रले पेनाल्टी पायो। उक्त पेनाल्टीमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए।











-1772974530090.jpeg&w=3840&q=75)
