नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न महासंघका राष्ट्रिय टोलीलाई नियमित प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘फिफा सिरिज’ कार्यक्रम सुरुआत गरेको छ। सोही अनुसार नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन्। प्रतियोगितामा नेपालसहित कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ। त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
फिफा सिरिज विश्वभरका राष्ट्रिय टोलीहरूलाई ठूला प्रतियोगिताबाहेक पनि अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम हो।
यसले टोलीहरूलाई प्रदर्शन सुधार गर्न, फिफा वरीयतामा अंक जोड्न तथा महादेशीय र विश्वस्तरीय प्रतियोगिताको तयारी गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।









-1771901440027.webp&w=3840&q=75)


