रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

काठमाडौं। अल–नासरका पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो खेल बहिष्कार गर्ने भएका छन्।
‘ईएसपीएन’का अनुसार साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) ले अल–नासरको व्यवस्थापनमा परिवर्तनको स्पष्ट आश्वासन नदिएमा रोनाल्डो आगामी जुनमै क्लब छाड्न सक्ने सम्भावना छ।
सोमबार अल–रियादविरुद्ध १–० गोलको जित हात पारेको खेलमा रोनाल्डो जानाजानी नखेलेको दाबी स्रोतले गरेको छ। रोनाल्डोका अनुसार पीआईएफले अल–नासरमा पर्याप्त लगानी गरिरहेको छैन र प्रतिस्पर्धी क्लब अल–हिलाललाई अतिरिक्त सुविधा दिइरहेको छ।
यसैबीच, फ्रेन्च स्टार करिम बेन्जेमालाई अल–इत्तिहादबाट अल–हिलालमा स्थानान्तरण हुन नदिन रोनाल्डोले प्रयास गरेका थिए। उनका अनुसार यस्तो कदममार्फत पीआईएफले अल–हिलाललाई लिग उपाधि जित्ने बाटो सहज बनाउन खोजिरहेको छ।
शीतकालीन ट्रान्सफर विन्डोमा अल–नासरले मात्र एक जना इराकी खेलाडीलाई भित्र्याएको थियो। उपाधि दौडमा रहेको टोलीले यस समयमा थप गुणस्तरीय खेलाडी अनुबन्ध गर्ने अपेक्षा रोनाल्डोले गरेका थिए।
खेल बहिष्कारको बीचमा पनि रोनाल्डो टोलीका साथीहरूसँग प्रशिक्षणमा सहभागी भएका छन्। बुधबार उनले क्लबको ट्रेनिङ किट लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर, सो दिन अल–नासरको आधिकारिक एक्स (ट्विटर)ले सार्वजनिक गरेको प्रशिक्षण तस्बिरमा उनलाई देख्न सकिएको थिएन।












