रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

काठमाडौं। इन्जुरी समयको अन्तिम क्षणमा पाएको फ्रिकिकले च्याम्पियन्स लिगमा अविस्मरणीय क्षण जन्मायो।
बेन्फिकाका प्रशिक्षक जोसे मोरिन्होले फ्रिकिक लिनुअघि गोलकिपर अनातोली त्रुबिनलाई पेनाल्टी बक्समा जान संकेत गरे। त्यसको केही क्षणमै इतिहास बन्यो।
फ्रिकिकबाट आएको क्रसमा त्रुबिनको हेडर गोलले बेन्फिकालाई रियल मड्रिडविरुद्ध ४–२ को जित दिलायो। यो गोलसँगै आवश्यक गोलअन्तर पूरा गर्दै पोर्चुगिज क्लब च्याम्पियन्स लिगको नकआउट चरण (शीर्ष २४) मा प्रवेश गर्न सफल भयो।
‘हामीलाई के चाहिएको हो भन्ने मलाई थाहा थिएन,’ त्रुबिनले खेलपछि भने,‘सबैले मलाई अगाडि जान भनिरहेका थिए। प्रशिक्षकलाई पनि भने। त्यसपछि बक्समा गएँ। त्यसपछि के भयो भन्नै सक्दिनँ। पागलपन क्षण थियो। म गोल गर्न अभ्यस्त छैन। २४ वर्षको उमेरमा यो मेरो पहिलो गोल हो, अविश्वसनीय।’
यो गोलले मोरिन्होको पूर्वक्लब रियल शीर्ष आठबाट पुग्न असफल रह्यो। योसँगै स्पेनी जायन्ट सिधै अन्तिम १६ मा पुग्न असफल भयो र अब प्ले–अफ खेल्नुपर्नेछ।
मोरिन्होले भने,‘३–२ ले पुग्छ कि पुग्दैन मलाई थाहा थिएन। कुनै संकेत थिएन। त्यसैले फ्रिकिक पाउँदा मैले त्रुबिनलाई अगाडि पठाएँ। यो जित ऐतिहासिक छ, विशेष गरी प्रतिष्ठाको हिसाबले अत्यन्त महत्वपूर्ण।’
गोल गरेपछि त्रुबिन मिडफिल्डतर्फ दौडिएर घुँडाले स्लाइड गर्दै उत्सव मनाए। उनका सहकर्मी खेलाडीहरूले उनलाई घेरेर खुसी साटे। बेन्चनजिक मोरिन्हो पनि दौडिए र समर्थकतर्फ फर्किँदै जोशपूर्ण रूपमा उत्सव मनाए।
पछि साथीहरूले काँधमा उचाल्दा त्रुबिनले आकाशतर्फ औंला देखाए। ‘हामीलाई थाहा थियो उसले यो गर्न सक्छ,’ मोरिन्होले थपे,‘केही हप्ता अघि पोर्टोविरुद्ध पनि अन्तिम क्षणमा ऊ माथि गएको थियो र झन्डै गोल गरेको थियो। ठूलो मान्छेले यस्तो गर्न सक्छ भन्ने हामीलाई थाहा थियो। तर, बलको गुणस्तर सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो अद्भुत गोल हो।’
खेलपछि रियलका गोलकिपर थिबो कर्टुवासमेत त्रुबिनलाई बधाई दिन पुगे। बेल्जियन अन्तर्राष्ट्रिय गोलकिपरले मुस्कुराउँदै बेन्फिकाका नायकलाई अँगालो हाले।
यूईएफएका अनुसार त्रुबिन च्याम्पियन्स लिगको मुख्य प्रतियोगितामा गोल गर्ने पाँचौं गोलकिपर बनेका छन्। यसअघि सन् २०२३ मा लाजियोका इभान प्रोभेडेल ले एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका थिए।
एस्टाडियो दा लुजमा खेलको आठौं मिनेटको इन्जुरी समयमा आएको यो गोल त्यतिबेला भयो, जब रियल मड्रिड नौ खेलाडीमा सीमित थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा राउल एसेन्सियो र चार मिनेटपछि रोड्रिगो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
त्रुबिनलाई गोलतर्फ डोर्याउने फ्रिकिक भने जुड बेलिङ्घमले फ्रेडरिक आउर्सनेस माथि फाउल गरेपछि प्राप्त भएको थियो।











-1769622014281.jpeg&w=3840&q=75)

