सलाहको बलियो पुनरागमन

काठमाडौं। मोहम्मद सलाहले लिभरपुलमा आफ्नो पुनरागमनलाई अझ मजबुत बनाउँदै च्याम्पियन्स लिगमा गोल फर्काएका छन्।
बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले कराबागलाई ६–० ले पराजित गर्दा सलाहले नोभेम्बरको सुरुदेखि पहिलो पटक गोल गरे।
इजिप्टियन विंगरले खेलको ५०औं मिनेटमा फ्रिकिकबाट सुन्दर कर्लिङ सटमार्फत गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए। यस जितसँगै ३६ टोली सहभागी लिग चरणमा लिभरपुल तेस्रो स्थानमा रहँदै सिधै अन्तिम १६ (राउन्ड अफ सिक्सटिन) मा छनोट भयो।
सन् २०१७ देखि लिभरपुलका मुख्य स्टार रहँदै आएका सलाहको भविष्य पछिल्लो समय अन्योलमा परेको थियो। डिसेम्बरको सुरुमा प्रशिक्षक आर्ने स्लटले लगातार तेस्रो खेलमा बेन्चमा राखेपछि सलाहले असन्तुष्टि जनाएका थिए।
त्यसपछि अफ्रिका कप अफ नेसन्स खेल्न मोरोक्को गएका सलाह प्रतियोगिताबाट फर्किएपछि लगातार तीन खेलको सुरुआती ११ मा परेका छन्। कराबागविरुद्धको गोल नोभेम्बर १ मा एस्टन भिल्लाविरुद्ध गोल गरेयताको उनको पहिलो गोल हो।
यो जितसँगै लिभरपुल प्ले–अफ खेल्नुपर्ने झन्झटबाट जोगिएको छ। गत सिजन पनि लिभरपुल लिग चरणमा शीर्ष स्थानमा रहे पनि अन्तिम १६ मा पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग भिड्नुपरेको थियो।
उक्त खेल पेनाल्टी सुटआउटमा हार्दा लिभरपुल बाहिरिएको थियो। पीएसजीले अन्ततः पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
कराबागविरुद्ध दुई गोल गरेका एलेक्सिस म्याक एलिस्टरले भने,‘फेरि शीर्ष आठमा पर्न पाउनु राम्रो हो। तर, गत सिजन सम्झिँदा अलि डर पनि लाग्छ। किनकि हामी शीर्षमै रहेर पनि पीएसजी पर्यौं। अगाडिको चरण सजिलो हुने छैन। तर, यहाँसम्म आइपुग्नु नै राम्रो उपलब्धि हो।’
अब अन्तिम १६ मा लिभरपुलले क्लब ब्रुग, गालातासाराय, युभेन्ट्स वा एट्लेटिको मड्रिडमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।










-1769622014281.jpeg&w=3840&q=75)


