थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं। बंगलादेशले आगामी जुन–जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ।
बंगलादेशले बुधबार छनोट चरणको सुपर सिक्समा थाइल्यान्डलाई ३९ रनले पराजित गर्दै विश्वकपको टिकट सुरक्षित गरेको हो।
बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। सुपर सिक्स चरणमा ६ अंकसहित शीर्ष स्थानमा रहँदै बंगलादेशले आगामी टी–२० विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो।
लक्ष्य पछ्याउने क्रममा थाइल्यान्डले राम्रो सुरुआत गरेको थियो। १३.२ ओभरमा ३ विकेट गुमाउँदै ८३ रन बनाइसकेको थियो। तर, त्यसपछि बंगलादेशी बलरहरूको दबाबमा परेर अन्तिम ४० बलमा ५ विकेट गुमाउँदै मात्र ४३ रन जोड्न सक्यो।
थाइल्यान्डकी नाथाकान चन्थामले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाइन्। नारुएमोल चाइवाइले ३० र नान्नापात कञ्चारोएनकाइले २९ रन जोडिन्।
बंगलादेशकी मरुफा अख्तर सबैभन्दा सफल बलर रहिन्। उनले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिइन्। रितु मोनी र स्वर्णा अख्तरले २–२ तथा फाहिमा खातुनले १ विकेट लिइन्।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो।
बंगलादेशको जितमा ओपनर जुयाइरिया फेर्दौस र चौथो नम्बरमा ब्याटिङ गरेकी सोबहाना मुस्तारीले महत्त्वपूर्ण भूमिका खेले। दुवैले अर्धशतक प्रहार गरे। १२ रनमै दुई विकेट गुमाएको अवस्थामा जुयाइरिया र सोबहानाबीच ११० रनको साझेदारी भएको थियो।
जुयाइरियाले ४५ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाइन् भने सोबहानाले ४२ बलमा ९ चौका र १ छक्काको मद्दतले ५९ रन जोडिन्। सोबहाना मुस्तारी उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
अन्त्यतिर रितु मोनीले ६ बलमा ३ चौकासहित १५ रनको छोटो तर, प्रभावकारी इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलमा पुर्याइन्।
थाइल्यान्डकी थिपात्चा पुथ्थावोंगले २२ रन खर्चेर ३ विकेट लिइन्। ओनिचा कामचम्फु र फानिता मायाले समान २ र १ विकेट हात पारिन्।














