समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा
बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। अपराजित रहेको एपीएफ क्लब राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो। जितसँगै एपीएफ लालीगुराँस एसोसिएसन क्लबलाई उछिन्दै शीर्षस्थानमा पुगेको छ।
चार खेलबाट एपीएफको १२ अंक छ। समान खेलबाट १० अंकसहित लालीगुराँस दोस्रो स्थानमा छ। जावलाखेलको भने यो तेस्रो हार हो। टोलीको ३ अंक मात्र छ।
एपीएफलाई चौथो जित दिलाउन समीरराज थोकरले २ गोल गरे। जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल फर्काए।
कुँवरले खेलको २०औं मिनेटमै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५८ र ८४औं मिनेटमा समीरले गोल गर्दै एपीएफलाई पुनरागमन जित दिलाए।














