राष्ट्रिय कबड्डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

काठमाडौं। २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीसँगै लुम्बिनी र मधेशले दोहोरो जित हात पारेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ समूह ‘बी’मा रहेको लुम्बिनीले विभागीय टोली एपीएफ र पुलिसलाई पराजित गर्यो।
पहिलो खेलमा लुम्बिनीले एपीएफलाई ६४–३९ ले पाखा लगायो। दोस्रो खेलमा पुलिसमाथि ५४–१३ को जित हात पार्दै स्पष्ट ४ अंक जोड्यो।
सोही समूहमा रहेको मधेशले भने पुलिसलाई ४४–३२ र कोशी प्रदेशलाई ६१–३५ ले पराजित गर्न सफल रह्यो।
समूह ‘ए’ मा रहेको आर्मीले बागमती प्रदेशलाई ४५–२५ र सुदूरपश्चिम प्रदेशलाई ६०–२२ को फराकिलो अंकले हराउँदै दोहोरो जित दर्ता गर्यो। योसँगै तीनवटै टोलीले समान ४ अंक हात पारे।
पुरुतर्फ नै समूह ‘बी’को एपीएफले कोशी प्रदेशलाई ६०–२६ र बागमतिले गण्डकी प्रदेशलाई ५०–३६ ले हराउँदै समान २ अंक बटुलेका छन्।
महिलातर्फ पनि आर्मीले दोहोरो जित हात पार्यो। समूह ‘बी’को पहिलो खेलमा बागमती प्रदेशलाई ४६–२० ले हराएको आर्मीले अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५–१९ ले पाखा लगायो।
जितसँगै आर्मीले ४ अंक हात पारेक छ। एपीएफले मधेश प्रदेशलाई ६४–१३ ले हराउँदा विभागीय डर्बीमा पुलिससँग २५–२५ को बराबरी खेल्यो। समूह ‘ए’मा रहेको एपीएफले भने २ खेलबाट २ अंक पुर्याएको छ।
अन्य खेलमा गण्डकीले कर्णालीलाई ३६–३३, बागमतीले सुदूरपश्चिमलाई २७–२२ र कोशीले मधेशलाई ३५–२२ र पुलिसले लुम्बिनी प्रदेशलाई ५२–१ ले पराजित गर्यो। पुलिसले ३ अंक बटुल्दा गण्डकी, कोशी र बागमतीले २ अंक हात पारे।
















