सिटी फाइनलनजिक
-1768358228603.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा न्युकासल युनाइटेडलाई २–० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलनजिक पुगेको छ।
मंगलबार राति न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा सिटीका नयाँ अनुबन्ध एन्टोइन सेमेन्यो नायक बने। उनले खेलको ५३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो गोलसँगै सेमेन्योले सिटीका लागि लगातार दोस्रो खेलमा गोल गर्ने कीर्तिमान बनाए।
गत साता बोर्नमाउथबाट ८७ मिलियन डलरमा सिटी पुगेका सेमेन्योले यसअघि एफए कपमा एक्सेटरविरुद्ध १०–१ को जितमा पनि गोल गरेका थिए।
खेलको इन्जुरी समयमा रायन चेर्कीले दोस्रो गोल गर्दै सिटीको जित पक्का गरे। सेमेन्योको ब्याकहिलबाट गरिएको आकर्षक गोल भीएआर जाँचपछि अफसाइडका कारण मान्यता पाउन सकेन।
खेलपछि सेमेन्योले भने,‘यहाँको वातावरण निकै उत्कृष्ट छ। सबै जितको लागि उत्साहित छन्। टोलीले मलाई आत्मविश्वास दिएको छ र अपनत्व महसुस गराएको छ।’
सिटीका कप्तान बर्नार्डो सिल्भाले सेमेन्योको प्रशंसा गर्दै उनी टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएको बताए। यो जितसँगै सिटीले उपाधि रक्षामा रहेको न्युकासलमाथि दुई गोलको अग्रता बनाएको छ। अब दोस्रो लेग अर्को महिना इत्तिहाद स्टेडियममा हुनेछ।
गएको सिजन उपाधि जितेर ७० वर्षको घरेलु ट्रफी पर्खाइ तोडेको न्युकासलका लागि अब फाइनल पुग्न चुनौतीपूर्ण देखिएको छ। सिटी हाल चारवटा उपाधि जित्ने लक्ष्यमा छ।
सिटीले यसअघि ८ पटक लिग कपको उपाधि जितिसकेको छ भने पेप ग्वार्डिओलाको प्रशिक्षणमा ४ पटक ट्रफी उचालेको छ।















