खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने
शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। व्यापक आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्।
नक्कली निमन्त्रणामा अमेरिका उड्न लागेको भन्दै विरोध भएपछि उनले शुक्रबार आफू नजाने निर्णय गरेको प्रमुख स्वकीय सचिव विनोद रिमालले जानकारी दिए।
‘जाने नजाने भन्नेनिर्णय हुन बाँकी थियो। उहाँले भिसाका लागि आवेदन दिनुभएको पनि थिएन,’ उनले भने।
मन्त्रिपरिषद्को गत २१ पुसमा बसेको बैठकले मन्त्री गुप्तालाई ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा सहभागी हुन अमेरिका जान स्वीकृति दिएको थियो।
विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन स्वीकृति पाएपछि विरोध सुरु भएको थियो।













