एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले अर्ली इलेक्सन गरेर छाड्न पाउनुपर्ने बताएका छन् ।
शनिबार एन्फा हेडक्वार्टरमा पत्रकार सम्मेलनको आयोजना गरेर महासचिव राईले फुटबल चलाउन नसकेको अवस्थामा छाड्छु भन्न नपाउने भनेर प्रतिप्रश्न गरेका हुन् ।
‘दुई वर्षअघिनै छाड्दिन मन लागेको थियो । लागेको कुरा गरेको हुँ ।’ राईले भने, ‘म गर्दिन भन्न नपाउने । तीन वर्षमै छाड्दिन्छु भन्न नपाउने ? उनले प्रतिप्रश्न गरे ।’
चार वर्षको कार्यकाल भएपनि कार्यसमितिले स्टेप डाउन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेको उनले दाबी गरे ।
‘कार्यसमितिकै साथीहरुले अर्ली इलेक्सन भनेर पत्रकार सम्मेलन गरे । मन्त्रीलाई कारबाही गर, छानविन गर भनेर पत्र बुझाए । हटाउ भने ।’ राईले पत्रकार सम्मेलनमा भने, ‘एन्फामा ताला लगाउ भनेको छ । भंग गर भनेको छ । यति धेरै विषय आईसकेपछि निर्वाचनमा जाऔं भन्ने निर्णय भएको हो ।’
साढे तीन वर्ष अघि नेतृत्वमा आएको एन्फाको वर्तमान कार्यसमितिले घरेलु फुटबल फुटबल चलाउन नसक्ने अवस्था सिर्जना भएपछि अर्ली इलेक्सनमार्फत निकास निकाल्न लागिएको बताएको छ ।
सोही अनुसार अर्को महिना माघ २८ गते झापामा एन्फाको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको घोषणा गरेको छ ।
महासचिव राईले बाहिर विरोधमात्र गरेर नबस्न भन्दै निर्वाचनमार्फत फुटबलको नेतृत्व लिन असन्तुष्ट पक्षलाई पत्रकार सम्मेलनमार्फत अनुरोध गरेका छन् । उनले एन्फाले निर्वाचनका लागि आवश्यक पत्राचार गरिसकेको जानकारी दिदै चाँडै निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनीक गर्ने जानकारी दिए ।














