मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिमको टोलीबाट सहभागी हुन पाकिस्तानी खेलाडीहरू नेपाल आएका छन्।
अनुभवी र नयाँ खेलाडीको मिश्रणसहित मैदानमा उत्रिन लागेको रुकुम पश्चिमले पाकिस्तानका मजर अली, वालिद खान र अहमद खानलाई पहिलोपल्ट समेट्दै प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
अली यसअघि पनि पटक–पटक नेपाल आइसकेका अनुभवी खेलाडी हुन्। यसपटक उनी नयाँ सदस्यहरूसँगै रुकुम पश्चिमको प्रतिनिधित्व गर्दैछन्। अघिल्ला सिजनमा उनले हेल्प नेपालबाट खेलेका थिए।
तर, यसपालि सोही टोली उनको विपक्षी बनेको छ। अलीले विपक्षी टोलीका मुबसर राजा र उनको टिम बलियो रहेको स्वीकार गर्दै आफ्नो टोली पनि उपाधि जित्ने लक्ष्यसहित कोर्टमा उत्रिने बताएका छन्।
‘उनी पाकिस्तानकै हुन् र राम्रो पनि खेल्छन्। तर, हामी पनि कमजोर छैनौं,’ मजर भन्छन्। नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार आयोजना हुने प्रतियोगिता ११ देखि २० पुससम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र कर्णाली प्रदेश भलिबल संघको समन्वयमा पुरुषतर्फको टिम प्रतियोगितामा सहभागी हुनेछ।
टिमको कप्तानी शैलेन्द्र शाहीले गर्नेछन् भने जीवन शाहीसहित पवन थापामगर, डाइमन खड्का, रोशन खड्का, विकास गिरी, पुस्कर सिंह धामी, गोपाल खनाल र मानसिंह विक टिममा रहेका छन्।
प्रशिक्षकको जिम्मेवारी तेजविक्रम बुढाले सम्हाल्नेछन्। दुर्गा रेग्मी सहायक प्रशिक्षक र यमन बाँठामगर टिम व्यवस्थापक रहेका छन्।









-1766593825391.webp&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)


