एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी
-1766280673568.webp&w=3840&q=75)
काठमाडौं। रियल मड्रिडका फरवार्ड किलियन एम्बाप्पेले ५९औं गोल गर्दै एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्लब कीर्तिमान बराबरी गरेका छन्। यो कीर्तिमान यसअघि उनै ‘आइडल’ क्रिस्टियानो रोनाल्डोले सन् २०१३ मा बनाएका थिए।
शनिबार सेभिल्लाविरुद्धको खेलमा अन्तिम चार मिनेट बाँकी रहँदा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियललाई २–० को जित दिलाए। यही गोलसँगै उनी उक्त ऐतिहासिक उपलब्धिमा पुगे।
आफ्नो २७औं जन्मदिनकै दिन एम्बाप्पेले रोनाल्डोको कीर्तिमान बराबरी गरे। गोलपछि उनले टोलीका साथीहरूसँग खुसी साटे र रोनाल्डोको चर्चित गोल ‘सेलिब्रेसन’ ‘सु’ शैली देखाए। पछि टेलिभिजन क्यामेरातर्फ चुम्बन गरे।
सन् २०२४ को समरमा पेरिस सेन्ट–जर्मेनबाट रियल आएका एम्बाप्पेले यस सिजन क्लबका लागि २९ गोल गरिसकेका छन्। यसमा ला लिगाका १८ गोल समावेश छन्।
एम्बाप्पेले भने,‘मेरो पहिलोसिजनमै क्रिस्टियानोले गरेको जस्तै गर्न पाउनु अविश्वसनीय छ। उहाँ मेरो आदर्श हुनुहुन्छ र रियलको इतिहासकै उत्कृष्ट खेलाडी हुनुहुन्छ।’
उनले थपे,‘मेरो सेलिब्रेसन उहाँकै लागि थियो। उहाँले मलाई यहाँ घुलमिल हुन मद्दत गर्नुभयो र अब म आफ्ना गोलमार्फत मड्रिडलाई जित दिलाउन सक्छु। म यो उपलब्धि उहाँसँग बाँड्न चाहन्थें। हाम्रो सम्बन्ध राम्रो छ, उहाँ मेरो साथी हुनुहुन्छ।’
१० खेलाडीमा सीमित सेभिल्लाविरुद्धको खेलमा रियलका जुड बेलिङ्घमले ३८औं मिनेटमा हेडरमार्फत पहिलो गोल गरे। सेभिल्लाका डिफेन्डर मारकाओले २० मिनेट बाँकी रहँदा लगातार दुईवटा ट्याकलका कारण दोस्रो पहेंलो कार्ड पाएर मैदान छोड्नुपर्यो।
यस्तै, सेभिल्लाका प्रशिक्षक मातियास आल्मेइदा पनि पहिलो हाफमा रेफ्रीसँग असन्तुष्टि जनाउँदै विरोध गरेपछि मैदानबाट निकालिएका थिए।






-1766281833800.webp&w=3840&q=75)




