एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

काठमाडौं। गोलकिपर अञ्जना रानामगरको फितलो प्रदर्शनलाई फजिला इक्वापुटकीले फाइदा उठाउँदै इस्ट बंगाल एफसीलाई साफ महिला क्लब च्याम्पियनसिपको उपाधि दिलाएकी छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा भारतीय क्लबले घरेलु टोली एपीएफलाई ३–० ले पराजित गरेको हो। बंगाललाई जिताउन फजिलाबाहेक सिल्की देवीले १ गोल थपिन्।
योसँगै इस्ट बंगाल अपराजित रहँदै उपाधि उठाउन सफल रह्यो। एपीएफ भने फाइनलमा गएर चुक्न पुग्यो। यसअघि लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए।
लिग चरणमा दुई खेलमा जित र २ बराबरीसहित एपीएफ शीर्ष दुईमा रहेर फाइनलमा पुगेको थियो। इस्ट बंगालले भने एपीएफबाहेक अन्य टोलीलाई हराउँदै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो।
२२औं मिनेटमै फजिलाको गोलमार्फत इस्ट बंगालले सुरुआती अग्रता लियो। सरिता युमनामको लामो क्रसलाई मनमाया दमाईले हेडरमार्फत बचाउने प्रयास गरेकी थिइन्। तर, पेनाल्टी बक्सबाट निकै अगाडि रहेको बल आफ्नै पोस्टतर्फ पुगेको थियो।
तर, रक्षक गीता राना र गोलकिपर अञ्जनाबीचमा तालमेल नमिल्दा फजिलाले गोल गर्न पुगिन्। उनको फिनिसिङ बल गीताको बुटमा लाग्दै जालीमा पुग्यो।
३५औं मिनेटमा सट कर्नलमा असलता देवीले मिलाइदिएको क्रसमा सिल्कीले सहजै गोल गरिन्। सिक्स यार्ड बक्सनजिक रहेकी उनले प्रहार गरेको बलमा पेस थिएन। तर, गोलकिपर अञ्जनाको जम्प राम्रो नहुँदा पञ्च गरे पनि बललाई बचाउन सकिनन्।
दोस्रो हाफको पहिलो मिनेटमै फजिलाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलकिपर अञ्जनालाई सहजै बचाउने मौका थियो। तर, ड्राइभ गरेर नियन्त्रणमा लिइसकेको बल फुत्काउन पुगिन्।
त्यसपछि इस्ट बंगालले खेलमा दबदबा राखे पनि गोल भने गर्न सकेन।











