अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) पछिल्लो समय लगातार अनुशासनहीनताका कारण एसियाली फुटबल महासंघ (एएफसी) को कारबाहीमा पर्दै आएको छ।
खेल मैदानभित्र मात्र होइन, व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण एन्फाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको फुटबलको छविलाई समेत प्रश्नचिन्ह लगाइरहेको देखिन्छ।
एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गत मलेसियाविरुद्ध नोभेम्बर १८ मा भएको खेलमा नियम उल्लंघन गरेको भन्दै एन्फालाई २ हजार अमेरिकी डलर (करिब २ लाख ८८ हजार रुपैयाँ) जरिबाना तिराइएको छ। एएफसीको अनुशासन तथा इथिक्स कमिटीले एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ उल्लंघन भएको ठहर गर्दै उक्त निर्णय गरेको हो। कमिटीका अनुसार नेपाली टोली पहिलो हाफ सुरु हुन १ मिनेट २० सेकेन्ड र दोस्रो हाफ सुरु हुन १ मिनेट ३० सेकेन्ड ढिला गरी मैदान प्रवेश गरेको थियो। यस ढिलाइका लागि नेपाली अफिसियललाई दोषी ठहर गरिएको छ।
उक्त खेलमा नेपाल १० खेलाडीमा सीमित हुँदै १–० ले पराजित भएको थियो। खेलको क्रममा मिडफिल्डर लाकेन लिम्बूले रातो कार्ड पाएका थिए। तर, खेल परिणामभन्दा पनि अफिसियल लापरबाहीका कारण आएको जरिबानाले एन्फाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। एएफसीका अनुसार यो जरिबाना एन्फाले ३० दिनभित्र तिर्नुपर्नेछ।
यो मात्र एन्फामाथिको कारबाही होइन। यसअघि पनि अक्टोबर ९ मा भियतनामविरुद्धको खेलमा लाकेनले रातो कार्ड पाएपछि उनीमाथि एक खेलको प्रतिबन्ध र एक हजार डलर (करिब १ लाख ४४ हजार नेपाली रुपैयाँ) जरिबाना तोकिएको थियो। एएफसी अनुशासन तथा नैतिकता समितिको अक्टोबर १३ को बैठकले एएफसी अनुशासनात्मक तथा नैतिकता संहिता धारा ४७ र ४८.२ अनुसार कारबाही गरेको थियो।
यसअघि फुटसल एसियन कप छनोट प्रतियोगितामा सहभागिता नजनाएको कारण एएफसीले एन्फालाई १० हजार डलर (१४ लाख ११ हजार ९ सय रुपैयाँ त्यतिखेरको विनियमदरअनुसार) जरिबाना मात्र होइन, आगामी दुई वर्षपछि हुने अर्को संस्करणमा समेत सहभागिता जनाउन नपाउने गरी कडा सजाय सुनाएको थियो। यसरी हेर्दा नेपालले ४ महिनामा मात्र १८ लाख ४३ हजार ९ सय रुपैयाँ जरिबाना एएफसीलाई तिरेको छ।
लगातार जरिबाना, प्रतिबन्ध र व्यवस्थापकीय असफलताले एन्फाको अनुशासन र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा भएको छ। यदि यस्ता कमजोरी सुधार नगर्ने हो भने मैदानभित्रको हारभन्दा बाहिरको अनुशासनहीनताले नेपाली फुटबललाई अझ ठूलो क्षतितर्फ धकेल्ने संकेत देखिन थालेको छ।











-1766108754902.webp&w=3840&q=75)