विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी
-1765813062633.webp&w=3840&q=75)
काठमाडौं। विश्वकपको तयारीस्वरूप जर्मनीले मार्चमा घानासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। ‘ड्र’ का कारण आइभोरी कोस्टसँग तय गरिएको मैत्रीपूर्ण खेल सम्भव नभएपछि जर्मनीले घानालाई प्रतिद्वन्द्वी बनाएको हो।
जर्मनी र घाना दुवै फुटबल संघले आइतबार मार्च ३० मा स्टुटगार्टमा खेल हुने पुष्टि गरेका छन्। यो खेल जुलियन नागेल्समानको टोलीले मार्च २७ मा स्विट्जरल्यान्डमा खेल्ने ‘अवे’ खेलको तीन दिनपछि हुनेछ।
यसअघि स्टुटगार्टमा जर्मनीले आइभोरी कोस्टसँग खेल्ने घोषणा गरिएको थियो। तर, विश्वकप ‘ड्र’ मा जर्मनी र आइभोरी कोस्ट एउटै समूहमा परेपछि त्यो खेल रद्द गर्नुपर्यो। उक्त समूहमा इक्वेडर र पहिलोपटक विश्वकप खेल्न लागेको कुरासाओ पनि छन्।
जर्मनीले प्रतियोगिता नजिकिँदै गर्दा फिनल्यान्ड र संयुक्त राज्य अमेरिकासँग पनि मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। घानाका प्रशिक्षक ओट्टो आड्डो जर्मनीमै जन्मिएका हुन्।
उनी खेलाडीका रूपमा घानाको प्रतिनिधित्व गर्दै बोरुसिया डर्टमुन्डसँग जर्मन लिगको उपाधि जितिसकेका छन्। जर्मनीका प्रशिक्षक नागेल्समानले भने,‘हामी ओट्टोको टोलीसँगको खेललाई लिएर निकै उत्साहित छौं। उनीहरूको छिटो ट्रान्जिसन खेलशैलीले विश्वकप समूह चरणमा आइभोरी कोस्टविरुद्ध खेल्नअघि कमजोरी खोज्ने मौका दिनेछ।’
गत महिना दक्षिण कोरिया र जापानसँग मैत्रीपूर्ण खेलमा पराजित भएको घानाका लागि जर्मनीविरुद्धको खेल ठूलो अवसर हुनेछ। चार पटकको विश्वकप विजेता टोलीसँग खेल्दै घानाले विश्वकपअघि आफूलाई निखार्ने मौका पाउनेछ। विश्वकपमा घाना इंग्ल्यान्ड, क्रोएसिया र पानामासँग कठिन समूहमा परेको छ।
घानाका प्रशिक्षक आड्डोले भने,‘यो हाम्रो लागि संसारकै उत्कृष्ट टोलीहरूमध्ये एकविरुद्ध आफूलाई जाँच्ने सानदार अवसर हो। जर्मनी बलियो टोली हो र हामी स्टुटगार्टमा उनीहरूसँग खेल्न आतुर छौं।’











