जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

काठमाडौं। विश्व प्रसिद्ध रेस्लर जोन सिनाको वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्यूडब्यूई) यात्रा अन्ततः ‘स्याटरडे नाइट मेन इभेन्ट्’ मा समाप्त भएको छ।
उनले उक्त कार्यक्रममा गन्थरसँग भएको खेलमा ‘सबमिसन’मार्फत हार बहोरे। रोचक कुरा के छ भने करिब २० वर्षपछि पहिलो पटक सिनाले कुनै खेलमा ‘ट्याप आउट’ गरेका हुन्।
आफ्नो अन्तिम खेलअघि डब्यूडब्यूईका थुप्रै हल अफ फेमरहरू (द रक र केनलगायत) ले सीनालाई शुभकामना दिएका थिए। खेलका क्रममा सिनाले गन्थरपछि आफ्नो चर्चित प्रवेश गीत ‘माई टाइम इज् नाऊ’ बजाउँदै रिङमा प्रवेश गरेका थिए।
खेल हेर्नका लागि कर्ट एङ्गल, आरभीडी, केभिन ओवेन्स, सामी जेन र मार्क हेन्रीजस्ता अनुभवी रेस्लरहरू रिङसाइडमा उपस्थित थिए।
खेलको सुरुआत गन्थरले सिनालाई ‘अपरकट र नाइफ–एज चप्स’ प्रहार गर्दै गरे। त्यसपछि सिनाले आफ्ना ‘सिग्नेचर’ चाल चले। तर, गन्थरले जर्मन सुप्लेक्स, पावरबम र लगातार क्लोथलाइनहरू प्रहार गर्दै खेलमा दबाब बनाइरहे।
पछि सिनाले आफ्नो चर्चित ‘एटिच्युड एडजस्टमेन्ट’ प्रयोग गर्दै गन्थरलाई ‘स्लिपर सबमिसन होल्ड’मा बाँधे। तर, अन्तिम चरणमा गन्थरले पुनः ‘स्लिपर होल्ड’ लगाउँदा सिनाले अर्को ‘एटिच्युड एडजस्टमेन्ट’मार्फत त्यसको प्रतिकार गरे।
यद्यपि, गन्थरले फेरि सशक्त ‘स्लिपर होल्ड’ लगाएपछि अन्ततः सिनाले ‘ट्याप आउट’ गर्दै हार स्वीकारे। खेल समाप्त भएपछि ट्रिपल एच, कोडी रोड्स, सीएम पंक, शन माइकल्स, द मिज, एजे स्टाइल्सलगायत थुप्रै डब्यूडब्यूई खेलाडी रिङमा आएर सिनालाई बिदाइ गरे।
यससँगै, सिनाको डब्यूडब्यूई रिङभित्रको ऐतिहासिक यात्राले भावुक अन्त्य पाएको छ।













-1765707019177.jpeg&w=3840&q=75)

