भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं। रोमाञ्चक खेलमा क्रिकेटप्रेमीहरूले आइतबार महिला एकदिवसीय विश्वकपमा दुई बलिया टोली भारत र इङ्ल्यान्डबीचको भिडन्त हेरे। उक्त खेलमा भारतलाई हराउँदै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ।
इन्दौरमा टस जितेर पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले ८ विकेट गुमाएर २८८ रनको प्रतिस्पर्धी योगफल तयार गर्यो। जवाफमा भारतले राम्रो सुरुआत गरे पनि अन्त्यसम्म पुगेर ६ विकेटको क्षतिमा २८४ रनमै रोकियो।
फलस्वरूप इङ्ल्यान्ड ४ रनको जितसहित सेमिफाइनलको टिकट पक्का गर्न सफल भयो। यससँगै अस्ट्रेलिया र दक्षिण अफ्रिका पनि नक्कआउट चरणमा पुगिसकेका छन्।
इङ्ल्यान्डकी पूर्वकप्तान हेदर नाइटले उत्कृष्ट प्रदर्शन गर्दै १०९ रनको शतकीय इनिङ्स खेलिन्। भारतकी दीप्ति शर्माले ४ विकेट लिइन्।
लक्ष्य पछ्याउँदै भारतले ४१ ओभरमा ३ विकेटको क्षतिमा २३४ रन जोडेको थियो। तर, त्यसपछि ४ ओभरको अन्तरालमा ३ विकेट गुमायो र निर्धारित ५० ओभरमा २८४ रनमै सीमित रह्यो।
भारततर्फ स्मृति मन्धानाले ८८, कप्तान हरमनप्रीत कौरले ७० र दीप्ति शर्माले ५० रनको योगदान दिए। इङ्ल्यान्डकी कप्तान नाटाली सिभर–ब्रन्टले २ विकेट लिइन् भने लोरेन बेल, लिन्सी स्मिथ, चार्ली डिन र सोफी एक्लेस्टनले १–१ विकेट हात पारे।