रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै
Title

काठमाडौं। नेपाली क्रिकेट इतिहास सोमबार एउटा विशेष अध्यायमा प्रवेश गर्दैछ। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा कतारविरुद्ध उत्रिँदा रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
२५ कात्तिक २०७९ मा उनलाई पहिलो पटक कप्तानको जिम्मेवारी दिइएको थियो। त्यो बेला धेरैका नजरमा उनी अझै उदीयमान युवा खेलाडी थिए। तर, उनै युवा खेलाडीले नेपाली क्रिकेटलाई नयाँ युगतर्फ डोर्याउँदै शतकीय यात्रा पूरा गर्न लागेका छन्।
रोहितको कप्तानीमा नेपालले हालसम्म ५२ टी–२० अन्तर्राष्ट्रिय र ४७ एकदिवसीय खेल खेलेको छ। यी ९९ खेलमा नेपालले पटक–पटक असम्भव जस्ता क्षणलाई सम्भव बनाएको छ। कहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओर्लिएको समर्थकको भीडबाट विश्वकप र एसिया कपमा पुगेको छ त कहिले रोहितकै इनिङ्सले नेपाललाई हारबाट बचाएको छ।
उनको नेतृत्वमा नेपालले टी–२० आईमा २९ जित, १८ हार र ३ बराबरी खेलेको छ। एकदिवसीयमा २५ जित र २० हारको रेकर्ड छ। यी तथ्यांक मात्र होइनन्, यी सबैका पछाडि रोहितको स्थिरता, दृढता र टोलीभित्रको द्वन्द्व पनि लुकेको छ।
नाबालिक बलात्कार आरोपमा सन्दीप लामिछाने निलम्बनमा परेपछि कप्तान पद खाली हुँदा नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई जिम्मेवारी सुम्पिएको थियो। सुरुमा दबाब थियो। आलोचना पनि कम थिएन। तर, उनले युवा टोलीलाई विश्वकप आशावादी टोलीमा रूपान्तरण गरेका छन्।
उनको कप्तानीमा नेपाल तेस्रो विश्वकपनजिक छ। ओमानमा भइरहेको प्रतियोगिताको सुपर सिक्समा आइतबार युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको टोली चार अंकसहित शीर्ष तीनको लडाइँमा छ।