अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने
Title

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी राष्ट्रिय तथा प्रादेशिक प्रतियोगितामा अन्य प्रदेश वा विभागीय टिममा खेल्न चाहने खेलाडीलाई ‘रिलिज लेटर’ अनिवार्य गरेको छ।
क्यानको वार्षिक कार्ययोजना अनुसार यस आर्थिक वर्ष सञ्चालन हुने राष्ट्रिय प्रतियोगितामा अन्य टिममा खेल्न चाहने खेलाडीले आफ्नो जिल्ला क्रिकेट संघबाट रिलिज लेटर लिएर मात्र अर्को टिममा सहभागी हुन सक्नेछन्।
क्यानले भनेको छ,‘अन्य टिममा स्थानान्तरण हुन चाहने खेलाडीले सम्बन्धित जिल्ला क्रिकेट संघबाट स्वीकृति पत्र लिएर मात्र सहभागी हुन पाउनेछन्। यसबारे सम्बन्धित संघले पनि क्यानलाई आधिकारिक जानकारी गराउनु पर्नेछ।’
क्यान सचिव पारस खड्काले यस नियमको उल्लंघन गर्ने खेलाडी वा टिममाथि आवश्यक कारबाही हुने चेतावनी पनि दिएका छन्। उनका अनुसार यो नियम तत्काल लागू हुनेछ। आगामी राष्ट्रिय प्रतियोगिताहरूमा यसको कडाइका साथ कार्यान्वयन गरिनेछ।