दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !
Title

काठमाडौं। ओमानको मस्कटमा आइतबार राति सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स नेपाली क्रिकेटका लागि इतिहासको पाना बन्यो।
यूएईविरुद्धको एक रनको नाटकीय जितले नेपाललाई नजिकिँदो विश्वकपको ढोका मात्र खोलिदिएन, अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जितको गर्विलो उपलब्धि पनि दिलायो।
अन्तिम ओभरमा नेपाल जितबाट धैरै टाढा देखिएको थियो। यूएईलाई १० रन चाहिएको अवस्थामा बलिङको जिम्मा दीपेन्द्रसिंह ऐरीले लिए। खेलको तनाव, दर्शकको चर्को हुटिङ र मैदानमा फैलिएको अनिश्चितता सबै कुरा उनैको काँधमा थियो।
‘मुटु ढुकढुक भइरहेको थियो, म नै बलिङ गरिरहेको थिएँ,’ खेलपछि ऐरीले भने,‘तर, कन्फिडेन्ट त ल्याउनुपर्यो। एक छक्का गयो, त्यसपछि योजना परिवर्तन गरेँ र योर्कर फ्याँके। डर त लागेको थियो, तर संयमता अपनाएँ।’
उनको संयमता र रणनीतिले नै खेलको पूरा मोड बदलिदियो। पहिलो दुई बलमा मात्र १ रन दिएपछि तेस्रो बलमा ध्रुव परासरले छक्का हानेर दीपेन्द्रलाई दबाबमा ल्याएका थिए। तर, चौथो बलमा परासरको स्कूप शट सिधै ऐरीकै हातमा पुगेपछि खेलको नक्सा पल्टियो।
पाँचौं बलमा सन्दीप जोराको थ्रोले हैदर अलीलाई रनआउट गर्यो। अन्तिम बलमा तीन रन आवश्यक थियो। जुनैद्द सिद्धिकी दोस्रो रन पूरा गर्न खोज्दा कप्तान रोहित पौडेलको सटिक थ्रोले उनको प्रयास रोकिदियो।
१४१ रनको लक्ष्य पछ्याएको यूएई ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो र नेपालले एक रनको जित सुरक्षित गर्यो। अन्तिम तीन बलमा लगातार तीन विकेट झारेको ऐरीको ओभरले टोलीलाई जित दिलाएन, नेपाली क्रिकेटमा आत्मविश्वासको नयाँ स्तर स्थापना गर्यो।
यो जितसँगै नेपाल सुपर सिक्समा ४ अंकका साथ ओमानसँग बराबरीमा पुगेको छ। अब सोमबार हुने खेलमा नेपाल कतारसँग भिड्नेछ। त्यो खेल जिते नेपाल फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेसम्म पुग्नेछ।