अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित
Title

काठमाडौं। नेपाली क्रिकेटको इतिहासमा आइतबारको दिन सुनौलो अक्षरले लेखिने भएको छ।
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा यूएईविरुद्धको एक रनको अद्भुत जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जितको उपलब्धि हासिल गरेको छ।
ओमानको मस्कटमा भएको खेलको अन्तिम ओभरसम्म खेलको टुंगो लागेको थिएन। तर, दीपेन्द्रसिंह ऐरीको निर्णायक ओभरले नेपालको यात्रा शतकीय उपलब्धिमा परिणत गर्यो।
नेपालले अहिलेसम्म दुई प्रमुख फर्म्याट टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा १८६ खेल खेलेको छ। त्यसमा १०० पटक विजयी भएको हो। टी–२०आईमा नेपालले ६२ र ओडिआईमा ३८ जितको संयोजनले यो कीर्तिमान तयार भएको हो।
सांख्यिक तथ्यभन्दा पनि विशेष क्षण बनाएको कुरा भने यूएईविरुद्धको जितको शैली हो। अन्तिम ओभरमा १० रनको चाहिएको थियो। तर, अन्तिम ओभरमा ऐरीले आफ्नो ‘आइस–कुल’ बलिङ प्रदर्शन गर्दै खेलको सम्पूर्ण नतिजा उल्टाइदिए। उनले अन्तिम तीन बलमा लगातार तीन विकेट लिएपछि असम्भवजस्तै देखिएको खेल नेपालको पोल्टमा परेको हो।
उनको ओभरको पहिलो दुई बलमा १ रन मात्रै आएको थियो। त्यसपछि ध्रुव परासरले छक्का हानेर दबाब फिर्ता ल्याए। तर, चौथो बलमा ऐरीकै क्याचमा परासर आउट भए। पाँचौं बलमा सन्दीप जोराको उत्कृष्ट फिल्डिङले हैदर अली रनआउट भए।
अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा जुनैद्द सिद्धिकी दोस्रो रन पूरा गर्न खोज्दा रोहित पौडेलको सटिक थ्रोमा रनआउट भए।
१४१ रनको लक्ष्य पछ्याएको यूएई ९ विकेट गुमाउँदै १३९ रनमै समेटियो र नेपाल विजयी भयो।
यो जितसँगै नेपाल सुपर सिक्समा ४ अंकका साथ ओमानसँग बराबरीमा पुगेको छ। अब नेपालले सोमबार कतारसँग निर्णायक भिडन्त खेल्नेछ। त्यो खेल जिते नेपालको यात्रा फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपसम्म पुग्ने लगभग पक्का हुनेछ।
यो जितले विश्वकपको ढोका नजिक्याएको मात्र होइन, नेपाली क्रिकेटको एक नयाँ अध्याय पनि खोलेको छ। अब असम्भव भन्ने शब्दले नेपाली क्रिकेटमा ठाउँ पाउने छैन।