आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य
२०२५ अक्टोबर १२, आइतबार: १२:०१ अपराह्नAdmin User
Title

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा यूएईलाई १४१ रनको सामान्य लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको हो।
नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौं अर्धशतक हो।
अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।
कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेनन्।
यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए।