नेपाल समूह विजेता
Title

काठमाडौं। नेपाल समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको छ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले नयाँ टोली जापानमाथि ५ विकेटको सहज जित निकालेको हो। योसँगै नेपालले समूह चरणमा ४ अंक जोडेको छ। नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै सुपर सिक्सको यात्रा तय गरिसकेको थियो।
जापानले भने समूह चरणको पहिलो खेलमा कुवेतलाई ५ विकेटले पाखा लगाएको हो। यद्यपि, नेपालले सुपर सिक्समा २ अंक बुक गर्दा जापान भने अंकविहीन रहने भएको छ। अब नेपालले जापानसँग पनि खेल्न पर्ने छैन।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। २१ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे।
कुशल भुर्तेल २१ र कप्तान रोहितकुमार पौडेल १८ रनमा आउट हुँदा गुलशनकुमार झा २८ रनमा अविजित रहे।
जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए पनि हार टार्न सकेनन्।
त्यसअघि पहिला ब्याटिङ थालेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।
जापानका कप्तान केन्देल कादोवाकीले सर्वाधिक ६० रन बनाए। ४६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
ईसम रहमान ३१ र इटो डेभिस १७ रनमा आउट भए। जापानका अन्य ब्याटर भने चल्न सकेनन्। नेपालका सन्दीप लामिछाने र गुलशनकुमार झाले समान २ विकेट लिए।