नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी
Title

तिलोत्तमा, रुपन्देही । तिलोत्तमा क्रिकेट लिगको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा बीच नेपथ्य इगल्स र द रामापुर रिभाइभलियन्सले जित दर्ता गरेका छन्। तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार सम्पन्न खेलमा नेपथ्य इगल्सले पी टु के डी स्क्वाडलाई ८० रनले पराजित गर्दै सानदार प्रदर्शन गरेको छ।
टस हारेर ब्याटिङमा आएको नेपथ्य इगल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। इगल्सका सन्दीप बाँनियाले २५ रन, कामरान अहमदले १६ रन र अब्दुल साउद खानले १५ रनको योगदान दिए। बलिङतर्फ पी टु के डी स्क्वाडका समीर यादवले ३ विकेट, शशिधर टण्डन र सागर भण्डारीले समान २/२ विकेट लिए।
१२९ रनको लक्ष्य पछ्याउन ओर्लिएको पी टु के डी स्क्वाडको पारी भने पूर्णरूपमा धराशायी भयो। टोलीका कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् र सम्पूर्ण टिम ४८ रनमै समेटियो। इगल्सका प्रेमसागर यादव, कामरान अहमद र लक्ष्मण कुमालले समान २/२ विकेट लिँदै विपक्षी टिमलाई सस्तैमा समेटे। उत्कृष्ट प्रदर्शनका लागि प्रेमसागर यादव गेम चेन्जर र कामरान अहमद म्यान अफ द म्याच घोषित भए।
यसैगरी, दोस्रो खेलमा द रामापुर रिभाइभलियन्सले खेलासिकी ओर्कासलाई ५ विकेटले पराजित गर्दै जित हात पारे। टस जितेर ब्याटिङ रोजेको खेलासिकीले २० ओभरमा ६ विकेट गुमाएर मात्र ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। टोलीका जावेद खानले १५ रन, कृष्ण विक र सुशान्त सुवेदीले समान १०/१० रन जोडे। बलिङतर्फ रिभाइभलियन्सका आयन खान र फैजान खानले समान २/२ विकेट लिए।
५४ रनको लक्ष्य पछ्याउने क्रममा रामापुर रिभाइभलियन्सले ५ विकेट गुमाउँदै सहज जीत हासिल गर्यो। सुसान्त थापाले १८ रन र आयन खानले नटआउट ७ रन बनाए। खेलासिकीका शोयब हसनले ४ विकेट लिए पनि टोलीलाई जीत दिलाउन सकेनन्। खेलमा फैजान खान गेम चेन्जर र आयन खान म्यान अफ द म्याच घोषित भए।