११ वर्षपछि बीबीएल खेल्दै स्टार्क
Title

काठमाडौं। ११ वर्षपछि अस्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्क पुनः बिग बास लिग (बीबीएल) मा फर्किँदै छन्।
उनले अन्तिमपटक सन् २०१४ मा अस्ट्रेलियाको घरेलु फ्रेन्चाइजी लिगमा खेलेका थिए। त्यसपछि राष्ट्रिय टोलीको व्यस्तताका कारण उनले यो प्रतियोगिता खेल्न पाएका थिएनन्। तर, अब ३५ वर्षीय स्टार्क फेरि एकपटक अस्ट्रेलियाको सबैभन्दा ठूलो टी–२० लिगमा मैदानमा देखिने भएका छन्।
स्टार्कले आफ्नो पुरानो टिम सिड्नी सिक्सर्सबाट खेल्ने भएका छन्। ११ वर्षअघि पनि उनले यही टिमको जर्सीमा मैदानमा देखिएका थिए। यद्यपि, यसपटक सुरुआती चरणदेखि उनले खेल्ने छैनन्। एशेज सिरिज सकिएपछि मात्र उनी सिक्सर्समा समावेश हुनेछन्। उनी जनवरी ८ तिर टिममा जोडिने अपेक्षा गरिएको छ।
गत दुई सिजनझैं यसपटक पनि सिक्सर्सले उनलाई सप्लिमेन्टरी खेलाडीको रूपमा दर्ता गरेको छ। तर, यसपटक स्टार्कले हालै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्न्यास लिएपछि बीबीएलको दोस्रो चरणमा खेल्ने सम्भावना खुला भएको छ।
स्टार्कले आफैंले सामाजिक सञ्जालमार्फत बीबीएल फर्किने जानकारी दिँदै भनेका छन्,‘सिक्सर्सको नयाँ म्याजेन्टा जर्सी लगाएर मैदानमा उत्रिने क्षणको प्रतीक्षा गरिरहेको छु। विगत एक दशकदेखि यो क्लबसँग मेरो गहिरो सम्बन्ध रहिआएको छ। सबै कुरा ठीक रहे यो समरमै म खेल्दैछु। सिक्सर्स मेरो मुटुको नजिकको टिम हो। बीबीएल र च्याम्पियन्स लिग जितेका स्मृतिहरू अझै ताजा छन्। यो वर्ष पनि हाम्रो लक्ष्य एउटै छ समर्थकहरूको लागि ट्रफी जित्ने।’
स्टार्कले सन् २०१४ को सिजनमा सिक्सर्सका लागि १० खेल खेलेर २० विकेट लिएका थिए। यो सिजनको बीबीएल १४ डिसेम्बरदेखि सुरु भई २५ जनवरीसम्म चल्नेछ।