नेपालको नजर इतिहास दोहोर्याउनेतर्फ

काठमाडौं। नेपाली क्रिकेट टोली फेरि एक ऐतिहासिक मोडमा छ। ओमानको तातो मैदानमा अब सुरु हुँदैछ अर्को सपना। त्यो सपना भनेको तेस्रो पटक टी–२० विश्वकप पुग्ने यात्रा कै हो।
सन् २०१४ को पहिलोपल्ट विश्वकप खेलेको नेपालले त्यसको ठ्याक्कै एक दशकपछि त्यही मञ्चमा पुनरागमन गरेको थियो। यसपल्ट नेपाल फेरि एकपटक विश्वमञ्चको ढोका ढकढक्याउँदैछ। यसपटक गन्तव्य भने श्रीलंका र भारत छ। बाटोचाहिँ ओमानको मस्कट हुँदै जानेछ।
नेपालले आफ्नो अभियान बुधबार कुवेतविरुद्ध सुरु गर्नेछ। यो खेलसँगै समूह ‘बी’ को यात्राको सुरुआत हुनेछ। यो समूहमा जापान पनि नेपालको प्रतिस्पर्धी हो। यी दुईमध्ये शीर्ष दुई टोली मात्र सुपर सिक्समा पुग्नेछन्। त्यहाँ अरू समूहबाट आएका टोलीसँग भिड्नुपर्नेछ।
त्यो सुपर सिक्स नै निर्णायक हुनेछ। त्यहीँबाट तीन टोलीले अर्को वर्षको विश्वकपका लागि टिकट काट्नेछन्। यो पटकको छनोटमा कुल ९ टोली छन्। यी टोलीलाई तीन समूहमा बाँडिएका छन्। मलेसिया, कतार, यूएई, ओमान, पपुवा न्युगिनी र सामोआका साथ नेपाल पनि यही यात्राको हिस्सा बनेको छ।
नेपाली टोली अहिले आत्मविश्वासले भरिएको छ। टेस्ट टोली वेस्ट इन्डिजलाई हराएर आएको टोलीमा खेलाडीहरू नयाँ जोशका साथ ओमान पुगेका छन्। तयारीका क्रममा ओमान र कतारविरुद्धको जितले पनि संकेत दिएको छ– नेपाल यस पटक सहभागी होइन, चुनौती दिन आएको टोली हो।
कप्तान रोहितकुमार पौडेलको स्वरमा पनि त्यो आत्मविश्वास स्पष्ट सुनिन्छ। ‘हामीले राम्रो अभ्यास गर्न पाएका छौं, सबैजना लयमा छन्,’ उनी भन्छन्, ‘तर अब वास्तविक परीक्षा सुरु हुँदैछ।’
टी–२० खेल भएको कारण उनका अनुसार कुनै पनि टोलीलाई हल्का लिनु गल्ती हुनेछ। ‘हामी सबैलाई बराबर प्रतिस्पर्धीका रूपमा लिन्छौं। मुख्य लक्ष्य भनेको विश्वकपमा फिर्ता हुनु हो।’ नेपालका लागि यो यात्रा छनोट मात्र होइन, विगतका वर्षहरूमा निर्माण भएको भरोसाको परीक्षा पनि हो।
अघिल्ला संस्करणमा भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलादेश, न्युजिल्यान्ड र पाकिस्तानजस्ता ठूला टोलीले पहिले नै विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्।
अफ्रिकाबाट जिम्बावे र नामिबिया, युरोपबाट नेदरल्यान्ड्स र इटाली, उत्तर अमेरिकाबाट अमेरिका र क्यानाडा सबैले आफ्नो टिकट काटिसकेका छन्। बाँकी तीन स्थानको लागि ओमानको मैदान अहिले निर्णायक रणभूमि बनेको छ। त्यही मैदानमा नेपालको नजर इतिहास दोहोर्याउनेतर्फ छ।