हजार रन प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन् इन्दु

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले टी–२० आई क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। उनी हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन्।
मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्धको चौथो खेलमा उनले ४८ अविजित रन बनाएर नेपाललाई ६ विकेटको जित दिलाइन्। यस जितसँगै ५ खेलको टी–२० आई सिरिज २–२ को बराबरीमा पुगेको छ।
सन् २०१९ देखि सिनियर टोलीमा रहेकी इन्दुले अहिलेसम्म ७० इनिङ्स खेलेकी छन्। उनले यी इनिङ्समा एक अर्धशतकसहित एक हजार ३३ रन जोडेकी छन्। १८.७८ को औसत र ८३.७१ को स्ट्राइक रेटमा उनले ७७ चौका र तीन छक्का प्रहार गरेकी छन्।
इन्दुको एक मात्र अर्धशतक सन् २०२१ नोभेम्बर १६ मा कतारविरुद्ध दोहामा आएको थियो। त्यस खेलमा उनी ५५ रन बनाएर ‘रिटायर्ड हर्ट’ भएकी थिइन्। त्यसपछि उनले त्यो व्यक्तिगत कीर्तिमान नाघ्न सकेकी छैनन्।
उनलाई भेट्रान अलराउन्डर सीता रानामगरले पछ्याइरहेकी छन्। ५९ इनिङ्समा उनले एक अर्धशतकसहित ९६५ रन प्रहार गरेकी छन्।
पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ९३६ रन पुर्याएकी छन् भने उपकप्तान पूजा महतोले मात्र ३४ इनिङ्समै ५१६ रन जोडेकी छन्।














