इन्दुको कप्तानी इनिङ्सँगै सिरिजमा नेपालको पुनरागमन

काठमाडौं। इन्दु बर्माको कप्तानी इनिङ्ससँगै नेपालले टी–२० सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। यसअघि मलेसियाले ३ विकेट र १३ रनको जित हात पारेको थियो। नेपालले भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। अब बुधबार हुने खेलले सिरिजको विजेता टुंगो लगाउने भएको छ।
सिरिजमा पुनरागमन गराउन इन्दुले अविजित रहँदै सर्वाधिक ४८ रन बनाइन्। ३९ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले २३ रन बनाइन्। उनी पनि अविजित रहिन्।
कविता कुँवर १६ र सम्झना खड्का ११ रनमा आउट भइन्। मलेसियाका आइन्ना हसिम, नूर दानिया र इज्जती इस्लामले समान १ विकेट लिए।
त्यसअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो।
मलेसियाकी मास एलिसाले सर्वाधिक ५६ रनको योगदान दिइन्। ६३ बल खेलेकी उनले ५ चौका प्रहार गरिन्। इज्जती इस्लाम १८ र नूर दानिया १५ रनमा आउट भइन्।
मलेसियालाई सस्तैमा रोक्न कविताले चार ओभर बलिङ गर्दै १० रन खर्चिएर सर्वाधिक ३ विकेट लिइन्। पूजा महतो र कविता जोशीले आफ्नो नाममा समान एक विकेट राखे।














