वेस्ट इन्डिजलाई विश्वकप जिताएका जुलिएन रहेनन्

काठमाडौं। वेस्ट इन्डिजका पहिलो एकदिवसीय विश्वकप विजेता खेलाडी बर्नार्ड जुलियनको निधन भएको छ।
गत शनिबार उत्तरी ट्रिनिडाडको भाल्सेन सहरमा ७५ वर्षीय जुलियनको निधन भएको वेस्ट इन्डिज क्रिकेट बोर्डले सोमबार जानकारी दिएको हो।
१९७५ मा आयोजित पहिलो एकदिवसीय क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले उपाधि जित्दा जुलियन पनि सो ऐतिहासिक टिमका सदस्य थिए। धेरैजसोले उनको नाम कमै याद गर्ने गर्छन्। तर, ७५ विश्वकपमा उनले प्रदर्शन गरेका खेल आज पनि सम्झनलायक छन्।
विशेषगरी श्रीलंकाविरुद्ध र न्युजिल्यान्डविरुद्धका खेलमा उनले चार–चार विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका थिए। १९७३ मा उनले लर्ड्समा इङ्ल्यान्डविरुद्धको आफ्नो पहिलो टेस्ट खेलमै शतक प्रहार गरेका थिए।
उनको १२१ रनको इनिङ्सले वेस्ट इन्डिजलाई ऐतिहासिक जित दिलाएको थियो। उनले वेस्ट इन्डिजका लागि २४ टेस्ट र १२ एकदिवसीय खेल खेलेका थिए।
उनले १९७० देखि १९७७ सम्म इङ्ल्यान्डको काउन्टी क्लब केन्टबाट पनि खेलेका थिए। तर, १९८२–८३ मा जातीय विभेदको समय दक्षिण अफ्रिका भ्रमण गर्ने ‘विद्रोही वेस्ट इन्डिज टोली’मा सहभागी भएपछि उनको अन्तर्राष्ट्रिय करिअर त्यहीँ अन्त्य भएको थियो।














