काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिबार २२औं संस्करण स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा परेका छन् । महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको ५ सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षक छनोट गरेको हो । उक्त समितिमा निरञ्जन राजवंशी, प्रजित शाक्य, हिमेशरत्न वज्राचार्य र विराट रायमाझी छन् । वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको हो । वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।
अवार्ड पोखरामा भदौ २९ गते आयोजना हुनेछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डको दिन सबै विधाको विजेता घोषणा गरिनेछ । पत्रकार सम्मेलनमा छनोट समितिका संयोजक ठकुरीले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा गर्न कठिन भएको बताए । साथै उनले एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए । मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजित शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमका रूपमा अवार्ड रहेको बताए ।
मञ्चका पूर्वअध्यक्ष एवं एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एआइपिएसका अध्यक्ष जियानी मेर्लो अवार्ड कार्यक्रममा सहभागी हुने जानकारी गराए । अवार्डकै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यस विधामा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । डिजिटल वालेट खल्ती वाई आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ ।
नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ ।
वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ ।