भैरहवा। लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रमबाट जानकी केसीलाई आसन्न एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल) प्रतियोगिताका लागि छनोट गरेको छ। इडब्लूभीएलको फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले आगामी
सिजनको प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट कार्यक्रमबाट केसीलाई छनोट गरेको हो। टिमका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेस्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरेसहितको प्राविधिक टिमले केसीलाई छनोट गर्ने निर्णय गरेको हो।
फ्रेन्चाइज प्रतियोगिताका लागि अन्तिम चरणमा १२ खेलाडी सहभागी थिए। लुम्बिनी लाभाजले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर केसीको नाम घोषणा गरेको हो। केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छन्।
म्यानेजर निरौलाले स्थानीय खेलाडीको छनोटले टिमको प्रर्दशन र हौसला बढाउन सहयोग पुग्ने बताइन्। लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुण शाहीसहित कामना विष्ट, अलिशा मानन्धर, शान्तीकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरेको छ।
विदेशी खेलाडीको रूपमा रसियन खेलाडी भेरोनिका जुवरेभलाई क्लबले सार्वजनिक गरिसकेको छ। दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ।