काठमाडौं। साबिक विजेता लिभरपुलले शुक्रबार एनफिल्डमा भएको नाटकीय खेलमा बोर्नमाउथलाई ४–२ ले पराजित गर्दै प्रिमियर लिगको यात्रा सुरुआत गरेको छ।
खेल डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाप्रति श्रद्धाञ्जलि अर्पण तथा खेलाडीमाथि भएको जातीय दुर्व्यवहारको घटनाले भावनात्मक बनेको थियो।
ह्युगो एकिटिके र कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। तर, २८औं मिनेटमा खेल रोकियो। बोर्नमाउथका घानाली फरवार्ड एन्टोइन सेमेन्गोलाई एक दर्शकले जातीय गाली दिएको भन्दै उनले रेफ्री एन्टोनी टेलरलाई जानकारी गराए। बोर्नमाउथका प्रशिक्षक आनडोनी इराओलाले दुर्व्यवहार गर्ने व्यक्तिलाई पहिचान गरिएको पुष्टि गरे।
२५ वर्षीय सेमेन्गोलाई घटनापछि टोलीका साथीहरूले ढाडस दिएका थिए। तर, उनले सम्पूर्ण खेल खेलेर ६४औं र ७६औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा फर्काए।
दोस्रो गोल उनले उत्कृष्ट व्यक्तिगत प्रयासबाट गरेका थिए। बोर्नमाउथका कप्तान एडम स्मिथले भने, ‘त्यस्तो अवस्थामा एन्टोले कसरी खेलेर ती गोलहरू गरे मलाई विश्वासै लागेन। उनी अलिक खिन्न थिए।’
तर, अन्त्यतिर लिभरपुल खेलमा फर्कियो। ८८औं मिनेटमा फेडेरिको चियसाले निर्णायक गोल गरे भने मोहम्मद सालाहले इन्जुरी समयमा अर्को गोल थप्दै ४–२ को जित सुनिश्चित गरे।
सालाहले गोल सेलिब्रेसन जोटाको शैलीमा थियो। खेलपछि उनी कोप स्ट्यान्डअगाडि आँसु रोक्न नसकेर उभिए। समर्थकहरूले निरन्तर ‘जोटा’ गीत गाइरहेका थिए।
जोटा र उनका दाजु आन्द्रे सिल्भाको स्पेनमा जुलाई ३ मा भएको कार दुर्घटनामा निधन भएपछि यो एनफिल्डमा भएको पहिलो प्रतिस्पर्धात्मक खेल थियो।। खेल सुरु हुनु अघि दर्शकहरूले ‘डिजे२०’ र ‘एएस३०’ लेखिएका प्लेकार्ड देखाए। कालो आर्मब्यान लगाइयो र दुवै क्लबका खेलाडीहरूले मैदानको बीचमा मौन श्रद्धाञ्जलि अर्पण गरे।
लिभरपुलका प्रशिक्षक आर्ने स्लटले भने, ‘२–२ को अवस्थामा मैले डियोगो जोटालाई सम्झन्थें। उनलाई मैदानमा उतार्न पाए परिस्थिति फरक हुन्थ्यो। तर, त्यो असम्भव थियो। तर, आज राति दर्शक र खेलाडीहरूले उनले विगतमा हामीका लागि जे गरेका थिए त्यही दोहोर्याए।’
उनले थपे, ‘यो घटनाले हाम्रो जितको उत्साहलाई छायामा पार्दिन्छ।’