काठमाडौं। अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनल मेसीको बहुप्रतिक्षित भारत भ्रमण हुने भएको छ। योसँगै उनले ‘गोट टूर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १२ मा कोलकाताबाट आफ्नो यात्रा सुरु गर्ने भएका छन्।
कार्यक्रमका प्रवर्द्धक सतद्रु दत्ताले शुक्रबार यसको पुष्टि गरेका हुन्। उनका अनुसार कोलकातापछि मेसी अहमदाबाद, मुम्बई र नयाँ दिल्ली पुग्नेछन्। नयाँ दिल्लीमा डिसेम्बर १५ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमण सम्पन्न हुनेछ।
यो मेसीको सन् २०११ यताकै पहिलो भारत भ्रमण हुनेछ। यसअघि उनी भेनेजुएलाविरुद्धको फिफा मैत्रीपूर्ण खेल खेल्न साल्ट लेक स्टेडियममा राष्ट्रिय टोलीसहित भारत आएका थिए। दत्ताले यसपटकको भ्रमणको प्रस्ताव फेब्रुअरीमा मेसीलाई व्यक्तिगत रूपमा गरेका थिए। मेसीले यसमा सहमति जनाएका थिए।
मेसीले प्रत्येक सहरमा बालबालिकासँग फुटबल मास्टरक्लास लिँदै नयाँ पुस्तालाई प्रेरित गर्नेछन्। डिसेम्बर १२ राति कोलकातामा अवतरण गर्ने उनले त्यहाँ दुई दिन एक रात बिताउनेछन्। डिसेम्बर १३ मा बिहान भेटघाट कार्यक्रम हुनेछन्। त्यस दिन नै उनको प्रतिमा अनावरण, विशाल भित्तेचित्रको लोकार्पण, ‘गोट कन्सर्ट’ र ‘गोट कप’ फुटबल खेल आयोजना हुनेछ। सात जनाको फुटबल खेलमा मेसीले सौरभ गांगुली, लिएन्डर पेस, जोन अब्राहम र भाइचुङ भुटियासँग खेल्नेछन्।
कोलकातापछि डिसेम्बर १३ साँझ उनी अहमदाबाद पुगेर अडानी फाउन्डेसनको व्यक्तिगत कार्यक्रममा सहभागी हुनेछन्। मुम्बईमा डिसेम्बर १४ मा भेटघाट, वानखेडेमा ‘गोट कन्सर्ट’ र ‘गोट कप’ हुनेछ। त्यहाँ उनले प्याडल टेनिस पनि खेल्नेछन्, जसमा बलिउड र खेलक्षेत्रका नाम चलेका व्यक्तिहरू सहभागी हुनेछन्।
महाराष्ट्र क्रिकेट संघले सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मासँग उनको भेट गराउने योजना बनाएको छ। अन्तिम गन्तव्य डिसेम्बर १५ मा दिल्ली हुनेछ। दिल्लीमा उनले प्रधानमन्त्री मोदीसँग भेट्नेछन् र फिरोज शाह कोटला मैदानमा ‘गोट कन्सर्ट’ र ‘गोट कप’ सम्पन्न गर्नेछन्। यसमा विराट कोहली र शुभमन गिलको समेत उपस्थिति रहनेछ।