काठमाडौं। करिब २६ महिनादेखि लिगविहीन भएर खेलजीवनबाट टाढिदै आएका नेपाली फुटबल खेलाडीले अन्ततः क्लब फुटबलको स्वाद चाख्ने अवसर प्राप्त गरेका छन्।
तर, यो मौका अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिर्जना गरेको होइन। यो त बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)को निर्णयले सम्भव भएको हो।
गत २७ जेठमा बीएफएफले २०२५–२६ सिजनका लागि दक्षिण एसियाली (सार्क) मुलुकका खेलाडीलाई ‘स्थानीय खेलाडी’को रूपमा गन्ने निर्णय गर्यो। त्यसयता नेपाली राष्ट्रिय टोलीका करिब एक टिम बराबर खेलाडी बंगलादेशतर्फ आकर्षित भएका छन्।
अहिलेसम्म कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित आठ खेलाडी बंगलादेश प्रिमियर लिगका विभिन्न क्लबमा अनुबन्ध भइसकेका छन्।
सबैभन्दा बढी खेलाडी भित्र्याउनेमा ब्रदर्श युनाइटेड अगाडि छ। यस क्लबले राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट र डिफेन्डरद्वय सनिश श्रेष्ठ तथा योगेश गुरूङलाई अनुबन्ध गरेको छ।
बंगलादेश पुलिस क्लबले कप्तान किरण र विंगर आयुष घलानलाई ढाका लगिसकेको छ। डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसमा पुगेका छन् भने सेन्ट्रल ब्याक अनन्त तामाङलाई फर्सिट एफसीले भित्र्याएको छ।
लिगविहीन अवधिमा युवा मिडफिल्डर लाकेन लिम्बूले मात्रै विदेशी लिग खेल्ने अवसर प्राप्त गरेका थिए। उनी अहिले फरक देशमा छन्। गत असार ३१ गते क्याम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीले उनलाई अनुबन्ध गरेको थियो।
यसअघि उनले भारतको आइ–लिग क्लब दिल्ली एफसीमा एक सिजन खेलेका थिए। अञ्जनले पनि बिचमा रियल काश्मिर एफसीबाट डुरान्ड कप खेले।
किरणबाहेक बाँकी अधिकांश खेलाडी नेपालमै विभिन्न गोल्डकप प्रतियोगिताको भरमा आफ्नो जीवनयापन गरिरहेका थिए। नेपालमा अन्तिमपटक २०८० जेठ २७ मा ‘ए’ डिभिजन लिग सम्पन्न भएको थियो। त्यसयता दुई सिजन भइसकेको हुनुपर्ने भए पनि पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा अहिलेसम्म गुमनाम छ।
परिणामस्वरूप राष्ट्रिय टोली, उमेरसमूह र विभिन्न श्रेणीका लिग खेलेका ९० भन्दा बढी खेलाडी विदेश पलायन भएका छन्। तीमध्ये करिब ४० खेलाडी अस्ट्रेलियामा मात्र छन्।
नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले लिग नहुँदा खेलाडीको पलायन तीव्र भएको बताउँछन्। ‘पहिले नै विदेश पलायनको क्रम थियो, तर लिग भइरहेको भए धेरैलाई रोक्न सकिन्थ्यो,’ उनी भन्छन्।
लिग नहुँदा राष्ट्रिय टोलीको निर्माणमा पनि ठूलो असर परेको छ। मुख्य प्रशिक्षक म्याट रसले खेलाडी अभावका कारण ओपन सेलेक्सनमार्फत नयाँ अनुहार भित्र्याइरहेका छन्।
कम अनुभवी खेलाडी मैदान उतार्नुपर्ने बाध्यताका कारण नेपालले अपेक्षा अनुसार नतिजा निकाल्न सकेको छैन। त्यसैले यस्ता छनोट पनि भविष्यमा प्रभावकारी हुनेमा शंका छ। तर, जे होस् नेपाल फुटबल ध्वस्त हुँदा बीएफएफले गरेको निर्णयले भने केही समय नेपाली खेलाडी र टोलीलाई जोगाइराख्ने सम्भावना देखिन्छ।