इलाम। तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधिको लागि गत वर्षको उपविजेता सलेहस युवा क्लब सिराहा र चर्च ब्वाइज युनाइटेड ललितपुर भिड्ने भएका छन्।
दोस्रो सेमिफाइनल खेलमा रेडस्टार एफसी झापालाई २–० ले हराउँदै सलेहसले चर्च ब्वाइजलाई प्रतिद्धन्द्धीको रुपमा पाएको हो। सलहेस र चर्च ब्वाइजबीचको फाइनल खेल शनिबार हुनेछ।
सलहेसका युसुफ मल्लिकले दुवै गोल गरे। उनले खेलको १३औं र ४८औं मिनेटमा गोल गरेका थिए। युसुफले काउन्टर मुभमा गोलको खाता खोले। आफ्नै साथीले दिएको ब्याक पास रेडस्टारका गोलकिपर दीप कार्कीसँग ठोकिएर फर्कने क्रमलाई उपयोग गर्दै युसुफले दोस्रो गोल गरे।
म्यान अफ दी म्याच युसुफ नै भए। उनले सात हजार रुपैयाँ प्राप्त गरे। सलेहसले क्वाटरफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० र सेमिफाइनलमा रेडस्टारलाई पराजित गरेको हो।
बुधबारको खेलबाट फाइनलमा स्थान सुरक्षित गरेको चर्चब्वाइजले भने क्वाटरफाइनलमा लिजेन्ड फुटबल एकेडेमी सिलिगुढी भारतलाई १–० र द योङ ब्रदर्स क्लब इटहरी सुनसरीलाई ट्राइब्रेकरमा ३–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो।