काठमाडौं। पूर्वक्रिकेटरका लागि आयोजना गरिएको वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्युसिएल) मा भारत र पाकिस्तानबीच आइतबार हुने भनिएको खेल अन्तिम समयमा रद्द गरिएको छ।
आयोजकले भारतीय टोलीको असहमतिको कारण खेल स्थगित भएको जनाएका छन्। भारतीय टोलीक पूर्वओपनर शिखर धवनलगायतका खेलाडी हालैको पहलगाम घटनापछि भारत–पाकिस्तानबीचको बढ्दो राजनीतिक तनावलाई कारण देखाउँदै उक्त खेलमा सहभागी हुन अस्वीकार गरेका हुन्।
यसपछि आयोजकले एक विज्ञप्ति जारी गर्दै खेल रद्द गरिएको जानकारी दिएका छन् र कुनै भावनामा चोट पुगेकोमा माफी मागेका छन्।
विज्ञप्तिमा भनिएको छ,‘यस वर्ष पाकिस्तानको हक्की टोली भारत आउँदैछ भन्ने समाचारपछि भलिबललगायत केही अन्य खेलमा भारत–पाकिस्तान भिडन्त देखेपछि हामीले पनि विश्वका दर्शकहरूलाई सुखद् क्षण दिन भारत–पाकिस्तानबीचको खेललाई निरन्तरता दिने सोच बनायौं। तर, सायद यस प्रक्रियामा हामीले धेरैको भावना नचाहँदैमा दुख्यायौं।’
भारतीय टिमको कप्तानी युवराज सिंहले गरिरहेका छन् भने टोलीमा शिखर धवन, हरभजन सिंह, युसुफ पठान, इरफान पठान, सुरेश रैना, रोबिन उथप्पा र वरुण ऐरनजस्ता पूर्व खेलाडी छन्।
त्यस्तै, पाकिस्तान टोलीको नेतृत्व मोहम्मद हफीजले गरिरहेका छन्। टोलीमा शोएब मलिक, सोहेल तनवीर, वहाब रियाज, कामरान अकमललगायतका चर्चित नाम छन्।
६ टोली सहभागी यो प्रतियोगितामा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। प्रतियोगिताको दोस्रो संस्करण जुलाई १८ देखि बर्मिङ्घममा सुरु भएको हो र अहिलेसम्म तीन खेल सम्पन्न भइसकेका छन्।