काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगिताको च्याम्पियन बनेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका नतिजाविहिन भएपछि दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरीले १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो।
खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धिताल ५२ बलमा सात चौकाको मद्दतले ६१ तथा बुद्धी तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए। यसैगरी रोशन विक २४ रन बनाए आउट भए।
मेलम्चीका लागि कप्तान रिन्जिङ तामाङले एक विकेट लिए। संयुक्तरुपमा विजेता घोषित भएपछि दुवै टोलीले पुरस्कार रकम पनि बाँडेका छन्। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाा प्राप्त गर्नेछन्।
वर्षाका कारण पहिलो सेमिफाइनल रद्द भएपछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनल प्रवेश गरेको थियो। यसैगरी दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोका क्लबविरुद्ध सुपर ओभरमा जित निकालेको थियो।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए।